१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रतिनिधिसभा सांसदसमेत रहेका विश्वकर्मा कोरोना संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचाररत छन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले नेता विश्वकर्माको स्वास्थ्य बिग्रँदै गएको भन्दै उपचारमा सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी आग्रह गरेका हुन् ।
विश्वकर्माको स्वास्थ्य अवस्थाबारे खाँणले प्रधानमन्त्रीलाई टेलिफोन गरी जानकारी गराएको खाँणको सचिवालयले जनाएको छ ।
फोक्सोको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका विश्वकर्मालाई ग्राण्डी अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बताएको छ ।
खाँणले शनिबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि टेलिफोन गरी विश्वकर्माको उपचारमा सहयोग गर्न आग्रह गरेका थिए ।
‘प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरी उहाँले नेता विश्वकर्माको उपचारमा गम्भीर बन्न र सहयोग गर्न आग्रह गर्नुभएको हो,’ खाँणको सचिवालयले भनेको छ ।
विश्वकर्मालाई कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो। कोरोना देखिएपछि उनी केहि दिन होम आइसोलेसन बसेका थिए ।
ज्वरो बढेको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी वीर अस्पताल र पछिल्लो पाँच दिनदेखि ग्राण्डी अस्पतालमा छन् । उनलाई आइसियुमा राखेर पनि उपचार गरिएको थियो ।
कात्तिक ९ गतेदेखि उनी अस्पतालमा छन्।