आर्सनलले डुनडाल्कमाथि ३–० को सहज जित हासिल

एजेन्सी

१४ कात्तिक, काठमाण्डौ । आर्सनलले युरोपा लिगमा डुनडाल्कमाथि ३–० को सहज जित हासिल गरेको छ । समूह बीमा रहेको आर्सनलको लगातार दोस्रो जीत हो ।

खेलमा ४१ औँ मिनेटमा एडी निकेताहले आर्सनललाई अग्रता दिलाए भने जो विलकले लगत्तै दोस्रो गोल थपे । दोस्रो हाफको शुरुवातमा नै निकोलास पेपेले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।

उता, टोटनह्याम हटस्पर्स भने रोयल एन्ट्रुपसँग १–० ले स्तब्ध भएको छ । बेन डेभिसको गल्तीको फाइदा उठाउँदै लियोर राफेलोभले खेलको निर्णायक गोल गरे ।

खेलपछि स्पर्सका प्रशिक्षक जोसे मोरिन्हो निकै क्रुद्ध देखिए । उनले आफूलाई दोस्रो हाफमा ११ जना नै खेलाडी परिवर्तन गर्न मन लागेको बताए । त्यस्तै, इन्सटाग्राममा पोष्ट गर्दै आफ्नो असन्तुष्टि जाहेर गरे । यो सन् २०१६ को नोभेम्बर यता युरोपा लिगमा मोरिन्होको पहिलो हार हो ।

बिहीबार नै भएका अन्य खेलमा लेस्टर सिटी एइके एथेन्सलाई २–१ गोलअन्तरले हरायो भने होफनहाइमले केएए जेन्टमाथि ४–१ को जीत हासिल
गर्यो । सेल्टिक र लिलेले २–२ को बराबरी खेल्दा भिल्लेरियाल कारबाकविरुद्ध ३–१ ले विजयी बन्यो । एसी मिलानले स्पार्टा प्रागविरुद्ध ३–० को सहज जित हासिल गर्यो ।