दशैपछि काठमाण्डौ उपत्यकामा फर्कनेहरुबाट कोभिड संक्रमण झनै बढ्न आकलन

१३ कात्तिक, काठमाण्डौ । दसैँपछाडी काठमाडौँ उपत्यकामा फर्कनेहरुबाट कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान दिदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारीसँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।

दसैँ सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरुको भिड बढेको छ । उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो । विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ । सार्वजनिक यातायात मार्फत् उपत्यका भित्रिनेहरुमा अझबढी संक्रमण हुन सक्ने सम्भावना पनि छ । यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो ।