मेयरकै सामुन्ने महोत्तरीको एक नगरपालिकामा तीन जनामाथि सांघातिक आक्रमण

१३ कात्तिक, महोत्तरी । मेयरकै सामुन्ने महोत्तरीको एक नगरपालिकामा तीन जनामाथि सांघातिक आक्रमण भएको छ ।

महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजया दशमीको राती सांघातिक आक्रमण भएको खुलेको छ ।

नेकपाबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका मटिहानी नगरपालिका वडा नम्बर ८ का ५७ वर्षीय विजय चौधरी, मटिहानी नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय जीतेन्द्र चौधरी र वडा नम्बर ७ का ५३ वर्षीय गणेशप्रसाद साह घाइते छन् ।

घाइते भएकाहरु मध्ये विजय दुई दिन उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको अवस्था गम्भिर रहेकाले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

विजया दशमीको राती मटिहानी नगरपालिका वडा नम्बर ७ मा दुई पक्षबीच विवाद भएको थियो ।

विवाद उग्र रुप लिन थालेपछि घटनालाई साम्य पार्न प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

प्रहरीको टोलीमाथि नै हातपात भएपछि लाठीचार्ज गरेको स्थानीयहरुको भनाइ छ ।

लाठीचार्जमा परी दुबै पक्षका मानिस घाइते भएको स्थानीयले बताए पनि प्रहरीले भने यसबारे खुल्न चाहेन ।

घाइते मध्येका एक विजय चौधरीले नगर प्रमुख हरि मण्डलकै उपस्थिति तथा प्रत्यक्ष संलग्नतामा घटना भएको आरोप लगाए ।

पीडित चौधरीले नगर प्रमुख मण्डल पक्षधर र अर्का गुटबीच विजया दशमीको राति ९ बजे भएको विवादका क्रममा प्रहरीको लाठीचार्जमा परी दुबै पक्षबाट केही व्यक्ति घाइते भएको बताए ।

‘घाइते भएका व्यक्तिहरुलाई सान्त्वना दिन सोही राति साढे १० बजे पुगेको थिएँ, सान्त्वना दिएर फर्किदै गर्दा हामीमाथि नगर प्रमुख मण्डलको उपस्थितिमा सांघातिक आक्रमण भयो,’ उनले भने ‘नगर प्रमुखसहित २०–२५ जनाको समूहमा गाडीबाट आएर एकाएक गालामा थप्पड लगाए । शैलेन्द्र मण्डल भन्नेले मेरो घाँटीमा छुरा प्रहार गरे, छुरा घाँटीको छेउमा मात्रै लागेकोले मात्रै बाँचेको हुँ ।’

बाँकी दुई जनाको शरीरको विभिन्न भागमा छुरा प्रहार गरिएको र उनीहरुको अवस्था गम्भीर रहेको चौधरीले बताए ।

उनकाअनुसार केहि दिन यता भने नगरमा भएको विकास तथा कामको प्रगतिबारे वडा वडामा गएर जागरण अभियान चलाएकाले नगर प्रमुखले गरेका भ्रष्टाचारको पोल खुल्न सक्ने डरले गुण्डा लगाएर आक्रमण गराउन लगाएको आरोप लगाए ।

यता मटिहानी नगरपालिकाका प्रमुख मण्डलको संलग्नतामै केही व्यक्तिमाथि भएको सांघातिक आक्रमणलाई लिएर कडा आलोचना भई रहेको बेला उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको नगर प्रमुख मण्डलले दावी गरे ।

उनले आफ्ना पक्षका व्यक्ति र अर्को पक्षबीच विवाद भएपनि घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

‘घटनामा मेरो व्यक्तिगत रुपमा कुनै प्रकारको संलग्नता छैन,’ उनले भने, ‘विपक्षीहरुले राजनीतिक प्रतिशोध साध्नकै लागि मेरो नाम उचालिएको बताए ।