फाइनटेक कम्पनी आन्टले ३४ अर्ब डलरको आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्ने

११ कात्तिक, हङकङ । चीनका अर्बपति उद्यमी ज्याक माको फाइनटेक कम्पनी आन्टले ३४ अर्ब डलरको आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्ने भएको
छ ।

सांघाई र हङकङको सेयरमार्केटबाट आन्टले उक्त रकम उठाउने लक्ष्य राखेको छ । आन्ट कम्पनीको यो आइपिओ संसारमै अहिलेसम्मकै ठूलो आइपिओ हुने द गार्डियनले उल्लेख गरेको छ ।

यसअघि सरकारी स्वामित्वको साउदी अराम्को कम्पनीले गत डिसेम्बरमा रियाद स्टक एक्स्चेन्जबाट२५.६ अर्ब डलर उठाएको थियो ।

आइपिओबाट उक्त रकम उठेपछि आन्टको पुँजी ३१३ अर्ब डलर पुग्ने छ । आन्टले सोमबार आइपिओका लागि रकम तोकेको हो, अर्को महिनादेखि उसको सेयरको कारोबार हुने अपेक्षा गरिएको छ ।

अमेरिकी सेयर बजारमा नजाने निर्णय गरेको आन्टले सांघाई र हङकङबाट बराबर १७.२ अर्ब डलर उठाउने लक्ष्य राखेको छ ।

ज्याक माकै अर्को कम्पनी अलिबाबाले आन्ट ग्रुपमा झन्डै ३३ प्रतिशत सेयर पु¥याउने भएको छ । त्यसका उसले ७३० मिलियन डलरको सेयर किन्ने सहमति गरेको छ ।

५५ औं जन्मदिनका दिन अलिबाबाको अध्यक्षबाट राजीनामा दिएका ज्याक माले नै आन्ट ग्रुपको नेतृत्व सम्हालेका छन् । आन्ट ग्रुपमा आफ्नो सेयर ८.८ प्रतिशतमा झार्ने उनले वाचा गरेका छन् ।

मा चीनमा धनीको सूचीमा पहिलो नम्बरमा छन् भने संसारका धनाढ्यमध्ये उनी १७ औं नम्बरमा पर्छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मासँग ६१ अर्ब डलरको सम्पत्ति छ ।

आन्टले चीनको सबैभन्दा ठूलो मोबाइल पेमेन्ट प्लेटफर्म अलिपे सञ्चालन गरिरहेको छ । योसंगै उसले अरू बैंकिङ सेवा पनि उपलब्ध गराउंदै आएको छ । अलिपेका मासिक ७० करोड प्रयोगकर्ता छन् ।