ट्याक्सी दुर्घटना हुंदा ३ को मृत्यु ४ घाइते

११ कात्तिक, खोटाङ । खोटाङमा हिजो सांझ ट्याक्सी दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउंपालिका–५ सोह्रखानीमा हिजो सोमबार सांझ साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै साढे २ मिटर तल खसेको थियो ।

विदेशबाट आएका आफन्तलाई भेट्न उनीहरू ट्याक्सी रिजर्भ गरी खोटाङ जान लागेका थिए । दुर्घटनामा परी बराहापोखरी गाउंपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

त्यस्तै बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनका ९ महिनाका छोरा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले उनीहरूको उद्धार गरी अस्पताल पठाएका थिए । घाइतेहरुकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।