मान्यजनबाट दशैँको टिका थाप्यौं, हिमाल, पहाड र तराई एकसूत्र भएर देश निर्माणमा लागौं

९ कात्तिक, काठमाण्डौ । नेपालीहरुको महान पर्व वडादशैं मुखैमा पुगेको छ । नेपाली समाजमा एउटा भनाइ नै छ, जस्तोसुकै मनमुटाव भए पनि दशैँमा टीका लगाउन जानू, सबै मनमुटाव निर्मूल हुन्छ । अथार्थ यो पर्व सामाजिक सद्भाव र मेलमिलापको पर्व समेत हो ।

दशैँ सद्भावको चाड भनेर पनि चिनिन्छ । दशैँका बेला अग्रजले दिने आशीर्वादले नेपाली संस्कारमा निकै महत्व राख्ने गरेको छ । तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ ।

अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन् । तर समयक्रमसँगै दशैँमा दिइने आशीर्वचनमा क्रमशः रूपान्तरण भएको देखिन्छ ।

इलामको फाकफोकथुमका दिलबहादुर लिम्बू अहिले ७४ बर्षका भए । बाबुआमा हुन्जेल उनले अन्यत्र दशैँको टीका लगाउन जानुपरेन । तर अहिले आफ्ना अग्रज कता छन् भनेर खोज्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।

आफ्ना बाबुआमाले दशैँको टीका लगाइदिएको सम्झिँदै उनले भने, दुर्गा भवानीको आशीर्वादले सधैँ सबैलाई राम्रो होस् भनेर आशिर्वाद दिनुहुन्थ्यो । अहिले पनि त्यस्तै आशीर्वाद दिने चलन बाँकी भएको उनी बताउँछन् ।

खासगरी पहाडतिर उनका जमानामा सन्तानले डाँडाकाँडा ढाकून् भनेर आशीर्वाद दिने चलन थियो। ठूलो परिवार र धेरै सन्तान हुनुलाई त्यतिबेला सम्पन्नताको प्रतीक मानिन्थ्यो ।

उनले भने, सन्तानको बृद्धिसँगै निरोगी हुनु भन्ने चलन थियो । जुन अहिले पनि प्रचलनमा छ । टीकासँगै लगाइने जमरा जसरी उम्रिन्छ, त्यसरी नै सन्तानमा कुनै क्षति नहोस् भन्ने चलन पनि भएको बूढापाकाहरू बताउँछन् ।

दिलबहादुर लिम्बूले भने, मैले आशीर्वाद दिँदा पनि जमरा जसरी सन्तान उम्रिऊन्, दुर्गा माताले सबैलाई निरोगी राखून् भनेर दिने गरेको छु ।

पहाडी जनजाति समुदायमा दशैँको छुट्टै मौलिकता छ । अन्य समुदायका मानिसहरूले निधारमा रातो टीका लगाउँदा सेतो टीका लगाउने उनीहरूको एउटा विशेषता हो ।

त्योसँगै राई तथा लिम्बू समुदायमा लाहुर गएर धेरै धन कमाउनू भन्ने जस्ता आशीर्वाद दिने प्रचलन एक समयमा थियो । इलामका दिलबहादुर लिम्बूका अनुसार उनको भन्दा अघिल्लो पुस्तामा त्यो आशीर्वाद खुब प्रचलनमा थियो ।

पहाडतिर त्यस्तो आशीर्वाद दिने चलन मभन्दा अघिल्लो पुस्तामा थियो । अहिले त हरायो त्यो । इलामकै ८५ वर्षीय वृद्ध गौरीमान लिम्बूले पनि लाहुर जानू, धेरै पैसा कमाउनू भनेर आशीर्वाद पाएको सुनाए ।

जनजाति समुदायका मानिसहरू लाहुर जाने प्रचलन रहेकोले आशीर्वादमा पनि त्यसले ठाउँ पाउनु स्वाभाविक नै हो।सन्तानले डाँडाकाँडा ढाकून्, लाहुर जानू जस्ता आशीर्वाद समयसापेक्ष नभएको ती हराएका छन् ।

गौरीमान लिम्बूका अनुसार अहिले आशीर्वादको मूल भाव परिवर्तन नभए पनि पछिल्लो पुस्ताले बुझ्नेगरी सामान्य भाषामा दिइने गरेको छ ।

उनले भने, संसार धेरै स्वार्थी भइदियो । जताततै झगडा छ । यो बेला मिलेर बस्नू भनेर पनि आशीर्वाद दिने गरेको छु । काम नगरी खान नपाइने अवस्थामा नपढी काम नपाइने उनको बुझाइ छ ।

त्यसैले अहिले उनी आफ्ना सन्तानलाई आशीर्वाद दिन्छन्, धेरै पढ्नू, मिलेर बस्नू । झापाको बुद्धशान्ति गाउँपालिकाकी ९० वर्षीया कृष्णकुमारी ओलीको सानैमा बिहे भयो ।

छ वर्षको उमेरमा उनी पतिको घर आइन् । तर सानाको दशैँ अहिले पनि उनको स्मरणमा ताजै छ । बाबै आमैकहाँ टीका लगाउन जाइन्थ्यो, उनले स्मरण गर्दै भनिन्, सबभन्दा रमाइलो त मावल जाँदा हुन्थ्यो ।

उनले अहिलेसम्म पाँच पुस्तालाई टीका लगाइदिएकी छन् । दशैँमा टीका लगाइदिँदा उहिलेदेखि उनले भन्ने गरिकी छिन्ः भगवान्ले रक्षा गरून् ।

आफ्ना सन्तानलाई कतैबाट दुःख कष्ट नहोस् भन्ने कामना आफूले गर्ने गरेको ओलीले सुनाइन् । उनले भनिन्, अहिले पनि म त्यही भन्छु । सबैलाई धेरैधेरै आशीर्वाद छ । दुःख कष्ट केही नहोस् ।

बीबीसीबाट