लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले बायर्नले ५–० को गोल अन्तरले जित हासिल

एजेन्सी

९ कात्तिक, काठमाडौं । आइनट्राक्ट फ्रांकफर्टबिरुद्ध सहज जित निकाल्ने क्रममा रोबर्ट लेवान्डोस्कीले नयाँ इतिहास रच्न सफल भएका छन् । शनिबार भएको खेलमा लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले बायर्नले ५–० को सहज जित हासिल गर्न सफल भएको हो ।

योसँगै पोलिस स्ट्राइकर पहिलो पाँच खेलपछि लिगमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । खेलको १०, २६ र ६० औँ मिनेटमा गोल गर्दै लेवान्डोस्कीले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

गत सिजन लेवान्डोस्कीले शुरुवाती ५ खेलमा नौ गोल गर्दै सन् १९६७–६८ सिजनमा बोरुसिया मोचेनग्लाडबाचका पिटर मेयरले बनाएको कीर्तिमान बराबरी गरेका थिए । गत सिजन उनले सबै प्रतियोगितामा ४७ खेलमा ५५ गोल गरेका थिए भने बुन्डेस लिगमा ३१ खेलमा ३४ गोल गर्न सफल भएका थिए ।

होफनहाइमविरुद्ध ४–१ को पराजय बेहोर्ने क्रममा गोल गर्न असफल रहेका लेवान्डोस्कीले चार खेलमा १० गोल गरेका हुन् । यो सिजन पनि उनीले प्रत्येक ३७ मिनेटमा एक गोल गरिरहेका छन् ।

बायर्नका लागि लेरोइ साने र जमाल मुसियालाले बायर्नका लागि एक–एक गोल गरे । खेलमा बायर्नले अल्फोन्डो डेभिसलाई घाइते हुँदै गुमाएको थियो ।