कस्तुरीको बिना सहित दुई जना पक्राउ

७ कात्तिक, काठमाडौं । कस्तुरीको बिनासहित काठमाडौं दरबारमार्गबाट दुई जना पक्राउ परेका छन्

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दिउँसो दुई बजे काभ्रे घर भई बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामालाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार दरबारमार्गमा कस्तुरीको बिना अवैध रूपमा बिक्री–वितरण भइरहेको भन्ने सूचना आएको थियो । सोही सूचनाको आधारमा प्रहरीको विषेश टोली खटाइएको थियो । सो टोलीले लामाद्वयलाई पक्राउ गरेको हो ।

उनीहरूबाट एक थान कस्तुरीको बिना र चार वटा मोबाइल बरामद गरेको छ । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

थापाका अनुसार करिब सात लाख रुपैयाँमा उनीहरूले बिना बेच्न खोजेका थिए। यो कसुरमा वन्यजन्तु ऐन आकर्षित हुन्छ ।