६ कात्तिक, बुटवल । कोरोना संक्रमणबाट नेपालमा मर्नेहरुको संख्या दिनप्रतिदिन बढ्ने र घट्ने क्रममा आज बिहान रुपन्देही र अर्घाखाँचीका दुईजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।
कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको डा. गौतमले बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा मृत्यु भएका कोरोना संक्रमितको संख्या ५३ पुगेको छ भने अर्घाखाँचीमा ५ पुगेको छ ।