विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

५ कात्तिक, काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लवले वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन् । सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ ।

कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप विप्लवले लगाएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।’