नेकपा सांसदहरूले दशै भत्ता नलिने निर्णय पार्टीबाट औपचारिक रुपमा गर्न दुई अध्यक्षलाई दवाव

३ कात्तिक, काठमाडौं । नेपालको संसदीय प्रचलन अनुसार सांसद, ठुला पदमा बसेका उच्च पदस्थ कर्मचारी र अन्य सम्मानित व्यक्तित्वलाई बडादशैैका भत्ता भनेर दिइर्दै आएको भत्ता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसदहरूले दसै भत्ता नलिने निर्णय पार्टीबाट औपचारिकरुपमा गर्न संसदीय दलको नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएका छन् ।

नेता तथा सांसदहरूको दबाब आएपछि औपचारिक तथा अनौपचारिक रुपमा छलफल सुरु भएको तर, निर्णय भइनसकेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका सांसदहरूलाई दसैँ भत्ता फिर्ता गर्न निर्देशन दिइसकेका छन् ।

भीम रावल, जनार्दन शर्मा, सूर्य पाठक, प्रभुसाहलगायतका नेकपाका सांसदहरूले व्यक्तिगतरुपमै भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् । नेकपाका प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको महामारी नसकिंदासम्म तलब नलिने घोषणा गरिसकेका छन् ।

नेकपाकै तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष भएका गणेशप्रसाद तिमल्सिनाले पनि यसवर्षको दशैं भत्ता फिर्ता गरिसकेका छन् । व्यक्तिगत भन्दा संस्थागतरुपमा निर्णय गरेर जांदा जनतामा राम्रो संदेश जाने सुझाव र दबाब आएको र त्यसमाथि छलफल भइरहेको नेकपाका संसदीय दलका उपनेता नेम्वाङले बताएका हुन् ।

तर, धेरै आरोप खेपेर, आलोचना सहेर निर्णय लिनुभन्दा छिटो निर्णय लिएर आउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’लाई नेकपाकै सांसद सूर्य पाठकको सुझाव छ ।

‘पार्टी र सरकारलाई मेरो विशेष आग्रह छ, तीन वटै तहमा नेकपाको उपस्थिति राम्रो छ । त्यसकारण कुनै पनि जनप्रतिनिधिलाई दसैँ या चाडपर्व खर्च नलिनु भनेर पार्टीले आन्तरिक सर्कुलर जारी गर्नुपर्यो । सरकारले संघीय जनप्रतिनिधिलाई भत्ता नदिने भनेर निर्णय गरेका छन् ।