सवारी साधनमा फुल सिटै यात्रु राखेर साविकै भाडादरमा यातायात संचालन

२ कार्तिक काठमाण्डौ । लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी साबिककै भाडा कायम गरेको हो ।

सूचना सार्वजनिक हुनासाथ यातायात व्यवसायीले पूरै सिटमा यात्रु राखेका छन् । पाँच महिना लामो बन्दाबन्दीपछि यातायात सुचारु गर्दा सिट क्षमताको आधा यात्रु राख्न पाउने मापदण्ड बनाएर असोज १ देखि ५० प्रतिशत भाडा वृद्धि गरेको थियो ।

वृद्धि गरिएको उक्त भाडा मन्त्रिपरिष्दको असोज २६ को निर्णयले घटाएर पूर्ववत् कायम गरेको थियो । व्यवसायीले शनिबारबाट पूर्ण सिट क्षमतामै यात्रु राखेका छन् ।

सार्वजनिक यातायातका साधनमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएको सुरक्षा मापदण्ड पूर्ण पालना गर्नुपर्ने विभागले जनाएको छ तर पूर्ण सिट क्षमतामा यात्रु राखेपछि सामाजिक दूरी कायम हुन नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।