आजबाट पुरानै भाडादरमा कायम गर्न सार्वजनिक यातायात सेवाहरुलाई सरकारको निर्देशन

१ कार्तिक, काठमाण्डौ । यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको हो ।

यसै विज्ञप्तिमार्फत विभागले यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने र साविकको भाडा दरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था समेत खारेज भएको जनाएको छ । योसँगै सार्वजनिक यातायातका साधनहरुले अब पुरा सिट प्यासेन्जर बोक्न पाउने भएका छन् ।

यसअघि सरकारले गत भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयमार्फत असोज १ गतेदेखि लागू हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न र साविकको भाडादरमा थप ५० प्रतिशत भाडा लिन भनेको थियो । यो निर्णयलाई पुनर्विचार गर्दै गत २६ गते बसेको मन्त्रिपरिषदको बैठकले ५० प्रतिशत कम यात्रु र ५० प्रतिशत थप भाडाको दुबै प्रावधान खारेज गरेको हो ।