भक्तपुर इन्कान्टरमा प्रहरी नै दोषी कारवाही गर्न सिफारिस

३० असोज, काठमाण्डौ । मानव अधिकार आयोगले भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई दोषी ठह¥याएको छ । आयोगको हालै बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

आयोगका एक अधिकारीका अनुसार बैठकले महाशाखाका एक जना प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ६ जनालाई कारबाही गर्नुपर्ने भनेको छ । आयोगले त्यसवेलाको वस्तुस्थिति र प्रमाणले भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको उनले बताए ।

प्रहरीले २१ साउन २०७५ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई जनामाथि गोली हानेको थियो । तत्कालीन महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भक्तपुरको डोलेश्वर जंगलमा दोहोरो भिडन्त भएपछि दुई जना अभियुक्त मारिएको प्रतिक्रिया दिएका थिए ।

तर, आयोगको छानविनले तमाङद्वयलाई घरबाट पक्राउ गरेर जंगलमा लगेर हत्या गरिएको पाइएको भनेको छ । यसबाट मानव अधिकारको गम्भिर उल्लंघन भएको बताउँदै कारबाही गर्न भनेको छ ।

यसअघि आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा पनि प्रहरीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ । तर, प्रकरणमा संलग्न प्रहरी अधिकृतमाथि हालसम्म कारबाही प्रक्रिया अघि बढेको छैन ।