सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी

विश्व बैंक

विश्व बैंकले सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी दिएको छ । कोरोनाभाइरस र त्योसँगै आएको विश्वव्यापी मन्दीका कारण गरिबीको दर त्यसरी बढ्ने विश्व बैंकले आङ्कलन गरेको हो । गरिबी वृद्धिको यो दर २० वर्षपछिकै सबैभन्दा बढी हो ।

विश्व बैंकले हालै सार्वजनिक गरेको ‘गरिबी र साझा समृद्धि रिपोर्ट’ मा यो अवधिमा ९।१ प्रतिशतदेखि ९।४ प्रतिशतसम्म व्यक्ति चरम गरिबीबाट प्रभावित हुने जनाइएको छ । अहिले विश्व बैंकले दैनिक १।९ डलरभन्दा कम आम्दानी भएकालाई चरम गरिबको रुपमा व्याख्या गर्ने गरेको छ । महामारी सुरु नभएको समयमा यस्तो गरिबी ७।९ प्रतिशतले घट्ने अनुमान गरिएको थियो ।

‘महामारी र विश्वव्यापी मन्दीले विश्वको १।४ प्रतिशतभन्दा बढी जनसंख्या चरम गरिबीमा पर्न सक्छ’, विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले भने, ‘विकासको प्रगति र गरिबी न्यूनीकरणमा यो गम्भीर अवरोध उल्ट्याउन देशहरूले पूँजी, श्रम, सीप र नवीनतालाई नयाँ व्यवसाय र क्षेत्रहरुमा जान दिएर कोभिड पछाडि विभिन्न अर्थतन्त्रको तयारी गर्नु आवश्यक छ ।’

चरम गरिबी दर बढ्दो क्रममा छ, विश्वव्यापी जनसंख्याको एक चौथाईले दिनको ३।२० डलरभन्दा कम कमाउँछन् । र, ४० प्रतिशतभन्दा बढी दैनिक ५।५ डलरको दरमा आम्दानी गरिरहेका छन् । समग्रमा पछिल्लो दशकको अन्तिम क्वार्टरमा गरिबीको दर निरन्तर घट्दै गएको थियो । सन् १९९० मा १ अर्ब ९० करोड जनसंख्या चरम गरिबीमा रहेका थियो । विश्व बैंक समूहका अनुसार यो तुलनामा २०१७ मा यो संख्या ६८ करोड ९० लाखमा झरेको थियो ।

हालको रिभर्सलको पछाडि कोभिड–१९ बाहेक विश्व बैंकले सैन्य द्वन्द्व र जलवायु परिवर्तन रहेको औंल्याएको छ । अत्यन्त गरिब ग्रामीण इलाकामा प्रायः महशुस
गरिन्थ्यो । तर यो अब सहरी केन्द्रहरुमा समेत फैलिसकेको छ । रिपोर्टमा भनिएको छ, ‘चरम गरिबीमा पर्नेमध्ये ८२ प्रतिशत जनसंख्या मध्यम आय भएका देशबाट हुनेछन् ।’

यो आर्थिक पूर्वानुमान विश्वका सबै देशलाई समेटेर आएको छ । ती देशहरु जसले कोभिड–१९ संक्रमणको पहिलो चरणलाई राम्रोसँग डिल गरे तर दोस्रो चरणको छालमा लपेटिए, ती देशहरु समेत यो पूर्वानुमानमा समेटिएका छन् । जोन हकिङ्सन विश्वविद्यालयको सातदिने रोलिङ–एभरेजअनुसार संयुक्त राज्य अमेरिकासहित कोभिड–१९ को प्रभाव सबैभन्दा बढी परेका १० मध्ये ८ देशमा अझै पनि यस्तो संख्या बढ्दै गएको छ ।

 

एबीसी न्यूजसँग हालसालै गरेको कुराकानीमा विश्व स्वास्थ्य संगठनका मार्गरेट ह्यारिसले कोभिड–१९ संक्रमणको पछिल्लो घटनालाई दोस्रो लहको रुपमा परिभाषित गर्न नहुने बताएका छन् । उनी भन्छिन्, ‘किनकी पहिले नै हामी आफ्नो घाँटीमा पुगेका छौं ।’ ‘हामीले यस भाइरससँग सुरक्षित रुपले बाँच्ने उपाय खोज्नुपर्छ । तर, बाँच्न, काम गर्न र समाजलाई क्रियाशील राख्ने कार्य जारी राख्नुपर्छ,’ उनले भनिन्, ‘हामी सुन्दैछौं कि स्वास्थ्यसम्बन्धी यी तगाराहरुले अर्थव्यवस्था रोकिरहेका छन् । यो हुँदै होइन । हामी केवल भनिरहेका छौं कि समाजलाई यस्तो तरिकाले प्रतिबन्धित गर्नुहोस्, जसले भाइरसका कारण समाजलाई कमजोर बनाउनबाट भाइरसको रोकथाम गरोस् ।’ ‘तर यो सजिलो छैन । यसका लागि धेरै नेगोसिएसन गर्नुपर्छ । यसका लागि धेरै बुझाउनुपर्छ । यसका लागि धेरै मिहिनेत र परिवर्तनको प्रतिवद्धता समेत चाहिन्छ । तर यो गर्न चाहिँ सकिन्छ’ ह्यारिसले भनिन् ।

दक्षिण एशिया र नेपालमा प्रभाव
केही दिनअघि विश्व बैंकले दक्षिण एशियाली देशमा कोरोनाको प्रभावको बारेमा रिपोर्ट सार्वजनिक गरेको थियो । सो रिपोर्टअनुसार चरम गरिबीको सीमाबाट माथि उठेका दक्षिण एशियाका लाखौं मानिसहरु सो सीमाभन्दा तल झर्नेछन् ।

पछिल्लो ५ वर्षमा दक्षिण एशियाली अर्थतन्त्र औसत ६ प्रतिशतभन्दा माथि थियो । सन् २०२० मा यो दर ७।७ प्रतिशतले संकुचित हुने प्रक्षेपण विश्व बैंकको रहेको छ । सन् २०२१ मा भने औसत ४।५ प्रतिशतको आर्थिक वृद्धि रहने विश्व बैंकको प्रक्षेपण छ ।

नेपालमा पनि महामारीको असरका कारण अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने र उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना रहेको जनाएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘उनीहरूलाई आय, सामाजिक सुरक्षा, र रोजगारी सहित सहयोग गर्नका लागि शीघ्र कार्य आवश्यक छ ।

साथै, भौतिक पूर्वाधार र अनौपचारिक क्षेत्रको वित्तीय पहुँचलाइ बढावा दिँदै द्रुत गतिमा पुनर्लाभ प्राप्त गर्नका लागि लगानीको वातावरणमा उल्लेख्य सुधार ल्याउनु आवश्यक छ ।’ प्रतिवेदनले सरकारलाई सर्वव्यापी सामाजिक सुरक्षाका साथै अझ बढी उत्पादकता, सीप विकास र मानव पूँजीलाई टेवा पुर्याउने नीतिहरूको विकास गर्न आग्रह गरेको छ ।