नेकपा कर्णाली प्रदेशमा दुई पक्षद्धारा छुट्टाछुट्टै संसदीय दलको बैठक आह्वान

२६ असोज, काठमाण्डौ । हिजो मात्र कर्णाली प्रदेशका मुख्यमन्त्री बिरुद्ध उनकै पार्टी नेकपाका १८ जना प्रदेशसभा सांसदले अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ ।

दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्ष सतहमै उत्रिएका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार प्रमुख सचेतक गुलाबजङ शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाएका छन् ।

तर, शाहले बोलाएको बैठक बस्न नपाउँदै मंगलबार नै उनलाई मुख्यमन्त्री शाहीले जिम्मेवारीबाट हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।

मंगलबार जिम्मेवारी पाएकी प्रमुख सचेतक नेपालीले पनि मंगलबारकै लागि बैठक बोलाइसकेको जानकारी दिएकी छन् ।

शाहले बोलाएको भन्दा अगाडिको समयमा नेपालीले बैठक बोलाएकी छन् । शाहले दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । नेपालीले बिहान ११ बजेका लागि बैठक बोलाएकी छन् ।