नेकपा कर्णाली प्रदेश सचेतक परिवर्तन गर्दै मुख्यमन्त्री शाहीद्धारा पनि दलको बैठक बोलाए

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ ।

दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्ष सतहमै उत्रिएका हुन् ।

शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार प्रमुख सचेतक गुलाबजङ शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाएका छन् ।

तर, शाहले बोलाएको बैठक बस्न नपाउंदै मंगलबार नै उनलाई मुख्यमन्त्री शाहीले जिम्मेवारीबाट हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।

मंगलबार जिम्मेवारी पाएकी प्रमुख सचेतक नेपालीले पनि मंगलबारकै लागि बैठक बोलाइसकेको जानकारी दिएकी छन् ।

शाहले बोलाएको भन्दा अगाडिको समयमा नेपालीले बैठक बोलाएकी छन् । शाहले दिउंसो १ बजेका लागि बैठक बोलाएका थिए । नेपालीले बिहान ११ बजेका लागि बैठक बोलाएकी छन् ।