ट्राफिक प्रहरीद्धारा दशैं आवगमनसँगै दैनिक सरप्राईस चेकिङ

२६ असोज, काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले दसैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणका लागि सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका सुरक्षा योजना लागू गरिएको महाशाखाका एसएसपी भिमप्रसाद ढकालले बताए ।

उनका अनुसार उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणलाई केन्द्रमा राखेर योजना बनाइएको छ ।

यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न समेत उनले सबैमा आग्रह गरेका छन् । ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओराल्दिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन आफूहरु चनाखो बनेको ढकालले बताए ।

सादा पोसाकमा प्रहरी परिचालन

भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी थालिएको महाशाखाका प्रवक्ता एसपी रामेश्वर यादवले बताए ।

उनका अनुसार मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी गरिएको छ । सादा पोसाकका ट्राफिक प्रहरीले बढी भाडा लिइ टिकट काट्ने, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्ने उनले जनाए ।

प्रविधिबाट निगरानी

लामो दुरीका भाडाका सवारीसाधनमा २ जना चालक अनिवार्य रुपमा भएरनभएको प्रविधिबाट निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ । यसका लागि ट्राफिक कम्युनिकेशन एपलाई प्रयोगमा ल्याइने ढकालले बताए ।

उनका अनुसार टिकट काउन्टर तथा सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने काम अनिवार्य गराइनेछ । मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्न, जिकज्याक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर सीसी टिभीमार्फत निगरानी गरिने उनले जनाए ।

बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण गर्न समन्वय गरिने महाशाखाले जनाएको छ ।

दैनिक आकस्मिक चेकिङ

महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँचको व्यवस्था गर्ने भएको छ ।

उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले उल्लेख गरेको छ ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ ।

भीडभाड क्षेत्रमा थप प्रहरी परिचालन

महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारीक क्षेत्रहरु तथा बसपार्क एरियामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ ।

एसएसपी ढकालका अनुसार १७२ स्थानहरुमा दैनिक नियमित ड्युटीका लागि ९०० जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप १५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने प्रवक्ता यादवले बताए ।

काठमाडौं उपत्यका भित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जनाए । यात्रुहरुको गुनासो सुक्ष्म रुपमा मनन् गरी तत्काल सम्बोधन गर्न नागरिक कक्ष राखिने उनले बताए ।

उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।