विपक्षी दलहरुको एकता डाँकुहरुको एकता – इमरान खान

एजेन्सी

२६ असोज, काठमाण्डौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकार विरुद्ध पाकिस्तानका विपक्षी दलहरु यतिबेला एकजुट भएका छन् ।

आफू विरुद्ध एकजुट भएका विपक्षी दलहरुको एकतालाई इमरान खानले डाँकुहरुको एकत बताएका छन् ।

असोज ५ गते पाकिस्तानका पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरुले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए ।

उनीहरुले २६ बुँदे संयुक्त सम्झौता पत्र सार्वजनिक गर्दै आन्दोलनमा जाने घोषणा गरेका थिए । गठबन्धनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लिम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरू रहेका छन् ।

’सारा बेरोजगार नेता एकसाथ खडा भएका छन् । यो डाँकुहरूको एकता हो। विपक्षले आफ्नो इच्छा अनुसार जुलुस–जलसा गरून्, कानुन तोडेमा सिधा जेल जानेछन् र त्यो जेल भिआईपी जेल हुनेछैन, आम कैदीवाला जेल हुनेछ’, पाकिस्तानी अखबार ’जंग’मा इमरानले चेतावनी दिदैं भनेका छन् ।

आफू विरूद्ध मोर्चाबन्दी गरेको विपक्षी गठबन्धनविरूद्ध इमरान खरोरूपमा उभिरहेका छन् । उनले यसमा खासगरी नवाज शरीफलाई आफ्नो मुख्य निशाना बनाएका छन् ।

’विपक्षीको उदेश्य लोकतन्त्र हैन, भ्रष्टाचार बचाउ नेछ । लोकतन्त्र त म हूँ, देशले प्रगति गरिरहेको छ । त्यसैले विपक्षीलाई सरकार ढाल्ने हतारो छ’, इमरानले भने ।

वकिलहरूको एक संगठनले आयोजना गरेको एक कार्यक्रममा उनले मुख्य रूपमा शरीफमाथि निशाना साँधे । उनले शरीफ पंजाब पुलिस बन्ने ध्याउन्नमा रहेको आरोप लगाए ।

’नवाज शरीफ सेनालाई पंजाब प्रहरी बनाउन चाहन्छन् । जब उनी सत्तामा हुन्छन् तब सबैमा काबु राख्छन्, आईएसआईलाई काबुमा राख्ने प्रयास गर्छन् अनि लडाईं हुन्छ । यही कारण उनको सेना प्रमुखसँग कुरा मिल्दैन’, उनले भने ।

उनले आफूलाई सेनासँग कुनै समस्या नरहेको र सेना हरेक ठाँउमा सरकारसँगै उभिएको दाबी गरे ।

नवाजले हाल भ्रष्टाचार अभियोगमा सजाय काटिरहेका छन् र पछिल्लो समय उपचारका लागि लन्डनमा छन् ।

भ्रष्टाचार निवारण संस्था नेशनल एकाउन्टेविलिटी ब्यूरोले नएक मुद्धामा नवाजलाई अदालतमा हाजिर हुने आदेश दिएको थियो । त्यहाँ नवाज हाजिर भएनन् जसका कारण ब्यूरोले उनको पासपोर्ट र परिचयपत्र रद्ध गर्ने सिफारिस गरेको छ । ब्यूरोले उनलाई भगौडा र नगद पुरस्कार घोषणा गरिएको अपराधी बनाउने प्रक्रिया सुरू गरेको छ ।

यसका अलावा पाकिस्तान सरकारले शरीफका भाइ र मुश्लिम लिगका अध्यक्ष शहबाज शरीफकी पत्नी र उनका दुई छोरासमेत १० जनाको नाम एक्जिट कन्ट्रोल लिस्टमा राखेको छ । यसको अर्थ उनीहरू देश छोडेर जान सक्दैनन् ।

आयभन्दा धेरै सम्पतिको मामिलामा शहबाज शरीफको अन्तरिम जमानत खारेज भएपछि उनलाई २८ सेप्टेम्बरमा लाहोर हाइकोर्टबाट पक्राउ गरिएको थियो ।

तर सरकारको यस कारवाहीबाट विपक्षी दलहरू डराएका छैनन् र इमरानमाथि उनीहरूको हमला कम भएको छैन् ।