कर्णालीमा ‘अविश्वास’ : बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर तयारी अवस्थामा

२६ असोज, काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ । केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरुमा नियुक्ति, राजदूत सिफारिस लगायत विषयमा भागबन्डाको गृहकार्य चलिरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपामा हलचल पैदा भएको हो । अविश्वासको प्रस्तावले नेकपामा थप विवाद बढ्ने संकेत देखिएको छ ।

यसअघि पटकपटक मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन खोजेका दलका सांसदलाई वरिष्ठ नेता माधव नेपाल लगायतले रोकेका थिए । तर, यसपटक नेपाललगायतलाई थाहै नदिइ उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको स्रोतको दाबी छ । ‘अहिले भने प्रधानमन्त्री केपी ओलीले प्रदेश सांसद आ–आफ्नो प्रदेशको सरकारलगायत विषयमा आफै निर्णय गर्न सक्षम छन् भनेर प्रदेश ५ का मुख्यमन्त्रीलाई भनेपछि कर्णालीका सांसद प्रदेश सरकारको नेतृत्व फेर्ने तयारी लागेका हुन्, स्रोतले भन्यो ।

कर्णालीमा देखिएका विवादले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहालको परीक्षा सुरु भएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी लिएपछि विवाद मिलाउने जिम्मा पनि उनकै हो ।

कर्णाली प्रदेशबाट मुख्यमत्री हटाउने खेल वाग्मती र प्रदेश १ सम्म आइपुग्न सक्ने नेकपा उच्च स्रोत बताउँछ । दाहालले अब प्रदेश १ र वाग्मती प्रदेशमा हल्का साथ दिए भने त्यहाँका मुख्यमन्त्रीहरु पनि परिवर्तन हुन सक्छन् । कर्णालीमा मुख्यमन्त्री फरिने अवस्था आए बाग्मती प्रदेशका मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन ४५ सांसदको हस्ताक्षर र प्रदशेका ३१ सांसदको हस्ताक्षर तयारी अवस्थामा छ । ‘हामी माथिको ग्रिन सिग्नल कुरेर बसेका छौँ,’ एक सांसदले भने ।

आजको नागरिक दैनिकमा समाचार छ ।