चिसो भुइँमा सुत्न बाध्य कारागारका कैदीबन्दीहरु

२३ असोज, तनहुँ । तनहुँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ । तर, कारागारभित्र खाट नहुँदा कैदीबन्दी भुइँमा सुत्दै आएका छन् ।

नयाँ भवन निर्माण भए पनि खाटको व्यवस्था नहुँदा कैदीबन्दी सिमेन्टको चिसो भुइँमाथि सुत्न बाध्य छन् । क्षमताभन्दा धेरै हुँदा उनीहरु कोचिएर सुत्नुपरेको मात्रै छैन, खाट नहुँदा भुइँमा सुत्नुपरेको हो । खाटको लागि बजेट नहुँदा कैदीबन्दी भुइँमा सुताउनुपरेको कारागार प्रशासनले जनाएको छ । “रकमको व्यवस्था नहुँदा खाट बनाउन सकिएको छैन, खाटमा कहिले सुत्न पाइन्छ भनेर प्रश्न गरिरहन्छन्”, कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले भने ।

कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा राखिएको पुरुष कैदीबन्दी भुइँमा सुतेका हुन् । सुत्नका लागि गर्मी महिनामा म्याट ओच्छाएर काम चलाइएको भए पनि अब जाडो महिना शुरु हुन लागेको चिसोले बिरामीमा परिने डर भएको चौकीदार तेजकुमार श्रेष्ठ बताउँछन् ।

श्रेष्ठले काठ सहयोग पाए कारागारभित्रै रहेका कैदीबन्दीले खाट निर्माण गर्ने बताउँछन् । कैदीबन्दीको सङ्ख्या उच्च हुँदा व्यवस्थापन गर्न कठिन भएपछि नवनिर्मित महिला बन्दीगृहमा पुरुष राखिएको हो । महिला कैदीबन्दीलाई पोखरालगायत अन्यत्र लानुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँ कारागार परिसरभित्र महिला बन्दीगृह निर्माण गरिएको थियो ।

पच्चीस जना क्षमताको उक्त कारागारमा हाल १३२ कैदी र ६४ थुनुवा गरी १९६ कैदीबन्दी छन् । पुरानो कारागार भवनलाई ब्लक ए र नयाँ भवनलाई ब्लक बी गरी नामाकरण गरिएको उनले बताउनुभयो । पुरानो भवनमा १०७ र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा व्यारेक र बन्दीगृह गरी तीनवटा भवन छ करोड ४४ लाख रूपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।

कारागार व्यवस्थापन विभागले हाललाई पुरुष राख्नु भन्ने नीतिगत निर्णय गरेकोले महिला बन्दीगृहमा पुरुष राख्न थालिएको निमित्त प्रमुख अधिकारीले बताए । गत साउन १ गतेदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो । उक्त भवन निर्माणपश्चात ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको रहेको छ ।

जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई हाल तनहुँ प्रहरीले धमाधम पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई कारागार पठाउन थालेपछि कैदीबन्दीको उच्च सङ्ख्या पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखका रूपमा असार ८ गते प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल हाजिर भएपछि धमाधमा फरार अभियुक्त पक्राउ पर्न थालेपछि सङ्ख्या बढ्न पुगेको छ ।

हालसम्म प्रहरीले फरार १७१ अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष पेश गरिसकेको छ ।