प्रत्येक चार जनाको परीक्षण गर्दा एक जनामा कोरोना भाइरस पोजेटिभ

२२ असोज, काठमाण्डौ । आजभोलि परीक्षण गरिएका प्रत्येक चार जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिन थालेको छ ।

आज बिहीबार मात्र १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गरिँदा ४ हजार ३६४ जनामा संक्रमण पोजेटिभ देखिएको हो । अर्थात २३.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

बुधबार पनि १४ हजार २०९ जनाको परीक्षण गरिएकोमा ३ हजार ४३९ जनामा संक्रमण पुष्टि भएको थियो । अर्थात २४.२० प्रतिशत व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो । उक्त दिन पनि प्रत्येक चार जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।

यस्तै मंगलबार परीक्षण गरिएकामध्ये १७ प्रतिशत, सोमबार १८ प्रतिशत र आइतबार १८ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । तर गएको दुई दिनमा भने संक्रमण दर ह्वात्तै बढेको छ । १८ प्रतिशतबाट संक्रमण दर २४ प्रतिशत पुगेको छ ।

संक्रमण दर बढेकै कारण अस्पतालहरूमा बेड अभाव हुन थालेको छ । काठमाडौं उपत्यकाका अधिकांश अस्पतालहरूले नयाँ संक्रमितहरूलाई भर्ना गर्न समस्या भएको बताएका छन् । त्यसमा पनि आइसियू र भेन्टिलेटरको अभाव भने सबैजसो अस्पतालमा छन् ।

अहिले अस्पतालहरूले आइसियूमा भर्ना गर्नुपर्ने विरामीहरूलाई समेत भर्ना गर्न सकेका छैनन् । स्वास्थ्य मन्त्रालयले भने उपत्यकामा १ सय ८१ वटा आइसियू बेड रहेकोमा ८२ वटा भरिएको जनाएको छ ।

संक्रमण दर उकालो लाग्दै गर्दा विज्ञहरूले समेत यसले घातक स्थिति निम्त्याउने जनाएका छन् । संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘यो संक्रमण दर भनेको एकदमै घातक छ । महामारी एकदम छिटो फैलिरहेको
छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण दर ५ प्रतिशतभन्दा कम भयो भने महामारी नियन्त्रण तहमा छ भन्ने हो । डा. सुवेदीले भने, ‘कोरिया लगायत अन्य देशको अभ्यासलाई हेर्ने हो भने तीन प्रतिशतभन्दा कम संक्रमण दर भएमा नियन्त्रणको स्थितिमा छ भन्ने हो । तर बाँकी नियन्त्रणको कार्यहरू गरिएन भने यो प्रतिशतको अर्थ रहन्न ।

अहिले नेपालमा संक्रमण खराब स्थितितिर गए पनि सरकारले भने नियन्त्रणको कार्यमा हात उठाएको उनी तर्क गर्छन् । उनले नियन्त्रणको पाटोमा अस्पतालको व्यवस्थापनतिर मात्र ध्यान दिइराखे त्यसले संक्रमण अझैं बढ्दै जाने बताए ।

डा. सुवेदी भन्छन्, ‘सरकारले हात उठायो । हामीले क्वारेन्टिन र ट्रेसिङ गरेका छैनौं । अस्पतालमा मात्र केन्द्रित गर्यौं भने संक्रमण यसरी नै बढ्दै जान्छ ।

संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै जाँदा सरकारले भने संक्रमण नियन्त्रणमा आफ्नो बुताले सक्ने प्रयास पनि नगरेको उनी दाबी गर्छन् । अहिले अस्पतालहरूमा विरामीहरूको चापले पनि संक्रमण अवस्था खराब रहेको स्पष्ट पार्ने उनी बताउँछन् ।

सरकारले अहिले पनि आफ्नो संयन्त्रहरूलाई अधिकतम प्रयोग गरेर संक्रमण अवस्थालाई सुधार गर्नसक्ने उनको भनाइ छ । डा. सुवेदीले भने, ‘हामीले जति सक्छौं त्यति प्रयास गर्नुपर्छ । कम्तिमा काठमाडौंमा दैनिक हजारबाट पाँच सय केसमा
झार्नुपर्छ ।

उनले अझैं पनि सरकारले परीक्षण दायरालाई फराकिलो र सहज बनाउनुपर्ने बताए । त्यसका लागि पुल टेस्टिङ, डाइरेक्ट पिसिआर जस्ता विधिहरूलाई प्रयोग गर्न सकिने उनी सुझाउँछन् । सरकारले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पुल टेस्टिङबाट परीक्षण गर्नुपर्नेमा उनको जोड छ ।

स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाएको बताउँदै आए पनि सुवेदीले भने अझैं पनि परीक्षण पर्याप्त नभएको दाबी गरे ।

‘कति परीक्षण गर्ने भन्ने कुरा त महामारीले कति परीक्षण गर्न आवश्यक बनाएको छ भन्ने कुरामा भर पर्छ । भएकै स्रोत साधनलाई प्रयोग गरेर कसरी बढी परीक्षण गर्ने भन्नेमा सरकारले सोच्नुपर्छ ।

पछिल्लो समय महामारी नियन्त्रणमा सरकारको ठोस कार्ययोजना समेत नदेखिएको उनी बताउँछन् । उनले सरकारको कायशैली नै उल्टो रहेको जनाए । ‘अहिले सक्रिय संक्रमित २५ हजार नाघेको छ । तर क्वारेन्टिनमा भने जम्मा चार हजार जना छन्,’ उनी भन्छन्, ‘यो ठ्याक्कै उल्टो हुनुपर्ने हो । आइसोलेसनमा जति छ त्योभन्दा बढी क्वारेन्टिनमा हुनुपर्छ तर हाम्रोमा उल्टो छ ।’

सरकारले समेत कोरोना संक्रमणको स्थिति खराब भएको भन्दै सबैलाई सतर्क रहन आग्रह गर्दै आएको छ । विशेषगरी दसैं लगायत चाडबाडमा संक्रमण अझै द्रुत रुपमा फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले यथास्थानमा रहेर यस वर्षको चाडबाड मनाउन अपिल गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैंमा गाउँ जाँदा कोरोना पनि कोसेलीको रुपमा सँगै जान सक्ने भन्दै उपत्यकाबाट दसैंमा गाउँ नजान आग्रह गर्दै आएका छन् ।

विज्ञहरूले समेत दसैंमा उपत्यकाबाट घर जाने व्यक्तिहरूले संक्रमण गाउँगाउँ पुर्याउन सक्ने बताउँदै आएका छन् । अहिले देशभरको स्थिति हेर्दा संक्रमणको बढी जोखिम नै काठमाडौं उपत्यका छ । दैनिक थपिने कुल संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन् ।

उपत्यकामा संक्रमित संख्या बढेकै कारण संक्रमण दर पनि बढेको हो । मन्त्रालयले उपत्यकामा निषेधज्ञा खुकुलो भएसँगै संक्रमण बढेको जनाएको छ ।