Breaking News

जाजरकोटको जुनिचाँदेमा जिप खस्दा वडाध्यक्षसहित ५ जनाको मृत्यु

२१ असोज, सुर्खेत । आज जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप जुनिचाँदे गाउँपालिका–१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका–११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको बताइएको छ । घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको छ ।

जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको डीएसपी श्रेष्ठले बताएका छन् ।

लेखक : रिर्पोट : मुन्ना प्रसाद साह