Breaking News

करिब १२ लाख मानिस गरिबीको चपेटामा

२० असोज, काठमाण्डौ । कोरोना भाइरस पत्ता लागेको नौ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन्। यसकै संक्रमणका कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान गुमाउनु परेको छ । त्यसबाहेक यस महामारीले विश्वमा करोडौं व्यक्तिलाई गरिबीको रेखामुनि धकेल्दै छ । नेपालमा पनि निम्नमध्यम वर्गमा उकासिएका लाखौं नागरिकलाई पुनः निरपेक्ष गरिबीकै दलदलमा फसाउने देखिएको छ ।

बीबीसीले तीन साताअघि कोरोना प्रभावित २७ मुलुकमा गरेको एउटा सर्वेक्षण (पोल) ले गरिब राष्ट्रका नागरिकको आम्दानी ६९ प्रतिशत घटेको देखाएको छ । धनी देशका नागरिकले भने ४५ प्रतिशत मात्रै आम्दानी गुमाउनु परेको उक्त अध्ययनको निष्कर्ष छ । विश्वमा हरेक १० मध्ये ६ जना आर्थिक समस्याबाट प्रताडित रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसमा पनि महिला र पिछडिएका समुदाय बढी मारमा परेका छन् ।

विश्व बैंकले गत ८ वैशाखमा प्रकाशन गरेको एउटा ‘डेटा ब्लग’मा कोभिड–१९ का कारण विश्वमा कम्तीमा ४ करोड ९० लाख व्यक्ति गरिबीको रेखामुनि धकेलिने उल्लेख थियो । त्यसमध्ये दक्षिण एसियामा १ करोड ६० लाख र भारतमा मात्रै १ करोड २० लाख गरिब थपिने प्रक्षेपण गरिएको थियो। विश्व बैंकले नै जेठ अन्तिममा जारी गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ प्रतिवेदनमा भने विश्वमा ७ करोड १० लाखदेखि १० करोडसम्म व्यक्ति पुनः गरिबीको चपेटामा पर्नसक्ने उल्लेख छ । उक्त प्रतिवेदनले २२ वर्षअघिको एसियाली वित्तीय संकटपछि पहिलोपटक यति धेरै मान्छेलाई एकसाथ गरिबीको रेखामुनि धकेल्न लागेको उल्लेख गरेको छ ।

नेपालमा कोरोनाका कारण कुन हदमा गरिबी बढ्छ भन्ने अध्ययन भएको छैन । तर, केही आँकडाले कम्तीमा १२ लाख व्यक्ति चरम गरिबीमा तानिने सम्भावना दर्शाउँछन् । नेपाल राष्ट्र बैंकले गत २६ जेठदेखि १० असारबीच गरेको एउटा सर्वेक्षणले उद्योग व्यवसायमा कार्यरत कामदारमध्ये साढे २२ प्रतिशत रोजगारी कटौती भएको देखाएको छ । त्यसमध्ये पनि दुई तिहाइ कामदार दैनिक ज्यालादारी र अस्थायी तथा करार सेवामा कार्यरत रहेको उल्लेख छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।