डा. गोबिन्द केसीसँग वार्ता गर्न ७२ घन्टे अल्टिमेटम

१९ असोज, काठमाण्डौ । नेपाल चिकित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । ‘७२ घण्टाभित्र पनि सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ति कुनै पहल अगाडि नबढाए जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’, विज्ञप्तिमा लेखिएको छ । वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न संघ तयार रहेको व्यहोरा जनाइएको छ ।

संघले आयोजना गरेका विभिन्न बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई दिएको म्यान्डेटअनुरूप डा. केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ । संघले विभिन्न विशेषज्ञ समाज, पूर्वअध्यक्ष, पूर्वमहासचिव, काठमाडौं उपत्यकामा रहेका अस्पतालका निर्देशकहरूसहित संघको परिषद् बैठक राखी बृहत् छलफल गरेको थियो ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।