बुटवलमा तीन दिनसम्म निषेधाज्ञा

१६ असोज, काठमाण्डौ । हिजो मात्रै प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङ स्थित भालुवाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा आन्दोलन हुनथालेपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा गरिएको छ ।

शुक्रबारदेखि नै रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै नेपाली काँग्रेस रुपन्देही आन्दोलित छ ।

यसलाई मध्येनज गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १८ गतेदेखि २१ गतेसम्म विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ५ जनाभन्दा बढीको समूहमा हिड्डुल गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ ।

यस्तै मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गलाई लाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।