बलात्कारपछि मन्दीर भित्रै त्रिशुलले हानेर हत्या

१६ असोज, कैलाली । केही समय अघि बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

साँझ पख ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी उनी घर फर्किनन् । राति करिब ९ः१५ बजे आफन्तले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटना भएको राति नै प्रहरीले मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । अनुसन्धान र छानबिनको क्रममा उनले बलात्कार र हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

‘बोहराले घटना आफूले घटाएको स्वीकार गरिसकेका छन् । हत्याको स्वीकार गरिसकेका बोहरा यसअघि पनि बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साउन २९ गते सोही ठाउँकी १३ वर्षीया बालिकालाई समेत बोहराले बलात्कार गरेका थिए । तर, ३१ गते आफन्तहरूसँग बसेर मिलापत्र गरिएको थियो ।

बोहराले गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । ‘त्यो बेला उनीमाथि कारबाही भएको भए यस्तो जघन्य अपराध हुने थिएन । पहिलो पटक घटना मिलाएपछि अपराधीको मनोबल बढेको हो,’ उनले भने ।

सम्झनाको बलात्कारपछि हत्या भएको चार दिनपछि २९ साउनको घटनालाई लिएर बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दर्ता गराएको जिल्ला जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताए । बलात्कारको घटना मिलाउने व्यक्तिहरुलाई समेत कारबाही हुने उनले बताए । ‘उहाँहरूलाई मतियार मानेर कारबाही हुन्छ,’ उनले भने, ‘अहिलेसम्म पक्राउ गरेका छैनौँ । तर, तत्काल पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढ्छ ।