युवा संसद विद्यालय कार्यक्रममा तीन सय युवालाई अवसर

१४ असोज, काठमाण्डौ । नेपाल युवा संस्था सञ्जाल (आयोन) ले तीन वटा प्रदेशमा भर्चुअल रुपमा ‘युवा संसद विद्यालय’ कार्यक्रम आयोजना गर्ने भएको छ । आयोनले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ मा कानुन निर्माण, समाजमा सुशासन कायम गराउन युवाको भूमिकाका बारेमा जानकारी गराउने उद्धेश्यले युवा संसद विद्यालय कार्यक्रम आयोजना गर्न लागेको हो ।

युवाको सहभागिता मार्फत स्थानीय शासनमा जवाफदेहीता प्रवद्र्धन गर्ने लक्ष्य राखेका छौं,’ आयोनका अध्यक्ष जगदीश ऐरले भने, ‘युवाहरुलाई कानून निर्माण प्रक्रिया र राष्ट्रिय तथा प्रादेशिक तहमा संसदीय निकायहरुको कार्यसम्बन्धमा विज्ञहरुले प्रशिक्षण दिनुहुनेछ ।

६ दिनसम्म चल्ने भर्चुअल प्रशिक्ष कार्यक्रममा तीन वटै प्रदेशका ३ सय जना युवा सहभागिहरु हुने आयोनले जनाएको छ । प्रत्येक प्रदेशबाट एक सय जना गरी सहभागि गराइने अध्यक्ष ऐरले जनाए । प्रशिक्षणमा सहभागि युवालाई युवा संसद विद्यालयबाट स्नातक उत्तिर्ण भएको डिजिटल प्रमाणपत्र उपलब्ध गराइने छ । प्रशिक्षण सहभागि हुने युवाको उमेर १८ देखि ३५ वर्षसम्म हुनुपर्ने मापदण्ड तोकिएको छ ।

‘संसदीय लोकतन्त्रको आधारभूत जानकारी, संसद र युवा संलग्नतासम्बन्धि मूल कार्यसम्पादन, खुला संसद र युवा सहभागिताबारे नाटक प्रदर्शन, र विचार आदान प्रदानका साथै मूल क्षेत्रमा युवा सहभागिता र कार्यसंलग्नताका विषयमा कलाको मार्फत पैरवी गर्ने सांसदसँग छलफल कार्यक्रम रहेको छ,’ अध्यक्ष ऐरले भने ।

कार्यक्रमको अन्तिममा युवा फोरम निर्माण गरिने जनाइएको छ । युएनडीपीको सहयोगमा आयोजना हुने कार्यक्रममा उत्कृष्ट उम्मेदवारलाई उनीहरुको प्रदेशमा नीतिगत वकालत गर्न निश्चित कोषमार्फत सहयोग गर्ने आयोजकले जनाएको छ ।