काँग्रेसद्धारा संसदको बिशेष अधिवेशनको माग

१४ असोज, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले यी विषयमा संसदमा छलफल गर्न विशेष अधिवेशन बोलाउनुपर्ने माग गर्ने भएको हो ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका विषयमा समेत छलफल भएको पदाधिकारी बैठकमा कोभिड १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठाउनका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

बढ्दो भ्रष्टाचार तथा बेथिति बढेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको कांग्रेसको भनाइ छ ।

कांग्रेसले सरकारविरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा. महतले बताए । कांग्रेसले सामाजिक दुरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको सहमहामन्त्री महतले बताए ।

कांग्रेस पदाधिकारी बैठकमा रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल भएको थियो ।