वर्षको अन्त्यसम्ममा चीनले ६१ करोड कोरोना विरुद्धको खोप उत्पादन गर्ने

एजेन्जी

१० असोज, काठमाडौं । चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, ‘चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने विश्वास राखेको छ । खोपको उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को वर्षसम्म कम्तीमा एक अरब डोजमा पुग्नेछ ।’

विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा बताउँदै भने, ‘चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।’

उनले भने, ‘हामीले क्लिनिकल परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा पाएका छौँ । परीक्षणमा रहेका खोपबाट कुनै प्रतिकूल प्रतिक्रिया देखेका छैनौँ ।’

गत जुलाईदेखि बन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार स्वयंसेवकमा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दाबी चीनको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले पत्रकार सम्मेलनमा खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्ने बताए । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने उनको भनाइ छ ।