यस्ता व्यक्तिले मात्र पिसीआर परीक्षण गर्न सरकारको आग्रह

९ असोज, काठमाडौं । लक्षण नदेखिएकालाई कोरोना परीक्षण नगर्न र नगराउन सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत पिसिआर परीक्षण गराउनुपर्ने अवस्थाबारे जानकारी गराएका हुन् ।

ज्वरो तथा सुख्खा खोकी लागेका, श्वासप्रश्वासमा समस्या भएका, झाडापखाला लागेका, कुनै स्वाद वा गन्ध थाहा नपाउनेहरुको पिसिआर परीक्षण गर्न, गराउन सरकारले भनेको छ । यी कुनै पनि लक्षण नदेखिएकालाई परीक्षण नगराउन, नगर्न पनि गौतमले आग्रह गरे ।

त्यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुलाई ५ दिनपछि परीक्षण गर्न सरकारले भनेको छ ।

विदेशबाट फर्किएकाको पनि पिसिआर परीक्षण गर्न सकिने उनले बताए। चिकित्सकीय सल्लाहअनुसार शल्यकृया गर्नुपर्नेहरु तथा जटिल अवस्थामा रही डिस्चार्ज गर्नुपर्ने बिरामीहरुको पिसिआर परीक्षण गर्नुपर्नेछ ।

आइसियूमा राख्नुपर्ने सबै बिरामीहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको पिसिआर परीक्षण गर्न सरकारले भनेको छ ।

तर शल्यक्रिया तत्काल गर्नुपर्ने विरामीहरुको कोरोना रिपोर्ट नआएकै भरमा शल्यक्रिया नरोक्न पनि प्रवक्ता गौतमले आग्रह
गरे ।

५ देखि ७ दिन क्वारेन्टिनमा रहेका, दिर्घरोगी, ६० वर्ष नाघेकाहरु, अग्रपंक्तिमा रहेर काम गर्नुपर्नेहरु, कुटनीतिक नियोग र भिसा प्रयोजनाका लागि मात्रै पिसिआर परीक्षण गर्न सरकारले अनुरोध गरेको छ ।

ती बाहेकको अवस्थामा परीक्षण नगर्न र नगराउन सरकारले सबैलाई आग्रह गरेको छ ।