जिप बगाउँदा बेपत्ता भएका दुई मध्य एक जनाको शव प्राप्त

८ असोज, बुटवल । कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा बेपत्ता भएका दुईजना मध्ये एकजनाको शव फेला परेको छ । सशष्त्र प्रहरी बल पिपराका प्रहरी निरीक्षक अर्जुन ढकालका अनुसार जिप बगाएको स्थानबाट करिब १२ किलोमिटर दक्षिण सुठौलीस्थित नदी किनारमा अर्घाखाँचीको शितगङ्गा नगरपालिका– १३ का केशव भाट क्षेत्रीको शव फेला परेको हो ।

बिहीबार बिहानैबाट खोजतलास गर्दा उनको शव दिउँसो साढे १२ बजेतिर नदी किनारमा घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको उनले बताए ।

बेपत्तामध्ये विद्युत कार्यालय बाणगंगा–जितपुर फिडर शाखाका प्रमुख कृष्ण पौडेलको खोजीकार्य जारी रहेको उनले बताए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले पौडेलको खोजीकार्यलाई जारी राखेको उनले बताए ।

कपिलवस्तुको भलबाडमा विद्युत लाइन मर्मत गरेर बनगाई फर्किने क्रममा बाणगंगा नगरपालिका–७ स्थित कोइली नदीको कजवेमा बुधबार बाढीले जिप बगाएको थियो । जिप चालक गुल्मीका माधवप्रसाद पाण्डेको भने बुधबार साँझ नै शव भेटिएको थियो । जिपमा सवार अन्य अन्य तीनजनाको भने सकुशल उद्धार गरिएको थियो ।