बलि चढ्न लगिएकी एक किशोरीको उद्दार

६ असोज, काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–५ की एक किशोरी बलि चढ्नबाट जोगिएकी छन् । १७ वर्षीया किशोरीलाई सीमा क्षेत्र विराटनगर महानगरपालिका–१७ हुँदै भारत लैजाने क्रममा उद्धार गरिएको हो ।

किशोरीलाई भारत पु¥याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ ।

‘घटनाको प्रकृति र कनेक्सन हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका छ, बाँकी कुरा अनुशन्धानबाट खुल्ने छ,’ मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताएका छन् ।

पक्राउ पर्नेमा सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, सप्तरीको तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भएका सुनसरी रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेको प्रहरी प्रमुख खड्काले बताए ।

उनका अनुसार घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको छ । सुमितले मनिकासँग मिलेर, प्रदीपको सहयोग लिएर किशोरीलाई भारत पु¥याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।

‘किशोरीको उद्धार गरिएको छ भने भारत लैजान खोज्नेलाई पनि पक्राउ गरिएको छ,’ एसपी खड्काले भने, ‘घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको छ ।’

प्रहरीका अनुसार दिदीसँग झुम्कामा बसेर तरकारी पसल गर्ने मनिकाले चिनजानका आधारमा किशोरीलाई लिएर विराटनगर आएको खुलेको छ । झुम्का बसाइकै क्रममा किशोरीको परिवारसँग मनिकाको चिनजान भएको थियो ।