२९ भाद्र, काठमाण्डौ । सिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ । जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ । भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै भएको गृह मन्त्रालयका अधिकारी बताउँछन् ।
उपसचिव मुरारी अवस्थी भूकम्पले थिलथिलो भएको ठाउँमा जथाभावी डोजरको प्रयोग गरेर विकास निर्माण गर्दा क्षति बढी भएको देखिएको बताउँछन । ‘स्थानीय तहको विकास र त्यसको भूजटिलताबीच तादात्म्य मिलेन। विकासका संरचना विपद्मैत्री भएनन् । त्यसैले धेरै क्षति भयो’, मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका इन्चार्ज अवस्थी भन्छन्, ‘भवन र सडक निर्माण गर्दा मापदण्डको ख्याल नगर्दा पनि धेरै घटना भएको हो ।’
उनका अनुसार भिरालो र जोखिमयुक्त ठाउँमा बस्ती भएकाले क्षति धेरै भएको हो । ‘मनसुन कम हुने समयमा बाढीपहिरोका ठूला–ठूला घटना भएका छन् । कम हुन्छ भनेको अझ बढिरहेको छ’, उनी भन्छन्। सिन्धुपाल्चोकको बाह्रबिसे र बागलुङका पछिल्ला घटना अप्रत्याशित रहेको उनी बताउँछन् ।
सिन्धुपाल्चोकका भोटेकोसी र बाह्रबिसेमा असार २५ गते पहिरोले ४ जनाको मृत्यु भएको थियो । भोटेकोसीमै साउन १ गते पहिरो जाँदा एकै परिवारका ५ जनाले ज्यान गुमाए । मेलम्चीमा साउन १९ गते पहिरोमै १० को मृत्यु भयो भने १ जना घाइते भए । जुगल–२ लिदीमा साउन ३० गते आएको पहिरोमा सबैभन्दा बढी क्षति भयो। त्यहाँ ३७ जनाले ज्यान गुमाए भने २ बेपत्ता छन् ।
पहिरोले यो वर्ष ५१ जिल्लामा मानवीय क्षति भएको छ । हालसम्म ३ सय १४ जनाको मृत्यु भएको छ । १ सय ११ जना बेपत्ता
छन् । १ सय ६० जना घाइते छन् । घाइतेमध्ये अधिकांश उपचारपछि फिर्ता भएका छन् । घटना भइरहेकाले धनजनको क्षतिको यकिन विवरण संकलन भइनसकेको अवस्थी सुनाउँछन् । मुलुकमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ६७ जनाको मृत्यु भएको
छ । ४४ जना बेपत्ता छन् भने ९ घाइते ।
२०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोक, रसुवा, दोलखा, धादिङ, गोरखालगायत जिल्ला बढी प्रभावित भए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनपछि मात्रै भूकम्प प्रभावित जिल्लाको भौगर्भिक अध्ययन गरियो । भूकम्प प्रभावित १४ जिल्लाका १ हजार १ सय ३ ठाउँको भौगर्भिक अध्ययन २०७४ सालमा गरिएको थियो । जसमा ६ सयभन्दा बढी जोखिमपूर्ण पाइएको थियो । जसमा सिन्धुपाल्चोकका मात्रै ३ सय ३७ बस्ती परेका थिए । २ सय ९० बस्ती त स्थानान्तरण हुनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
तर, त्यो अध्ययन विस्तृत नभएको भूगर्भविद् प्रा. डा. नरेन्द्रराज खनाल बताउँछन् । ‘तत्काल अलिअलि अध्ययन गरियो । विस्तृत रूपमा अध्ययन गर्ने प्रणाली नै बनेन’, प्रा. डा. खनाल भन्छन्, ‘भूकम्पले गाउँ–गाउँमा चिराचिरा बनाएको थियो । हरेक वर्ष अध्ययन गरिनुपथ्र्यो । त्यो नगर्नुको परिणाम यो वर्ष देखियो ।’ पहिरोले यो वर्ष यति धेरै क्षति पुग्दा पनि राज्यको ध्यान नगएको उनको भनाइ छ । सरकार राहत बाँडेर सस्तो लोकप्रियतामा मात्रै लागेको उनी बताउँछन् ।
अर्का विज्ञ प्रा. डा. तारानिधि भट्टराई बाढीपहिरोको अध्ययन नहुँदा जोखिम प्रत्येक वर्ष बढ्दो रहेको बताउँछन् । ‘पहिरोका ठूलाठूला घटना भइरहेका छन् । सरकारका उच्च पदस्थ पदाधिकारी घटनास्थलमा जान्छन् । राहत बाँड्छन् । तर, पहिरो कसरी गयो ? यसरी यो वर्ष यति धेरै किन पहिरो गइरहेको छ ? यतातिर सरकारको ध्यान गएजस्तो लाग्दैन’, उनी भन्छन्, ‘होइन भने सरकारले राहत बाँड्न जाँदा विज्ञको टोली पनि लिएर जानुपथ्र्यो । मन्त्री राहत बाँड्थे, विज्ञले त्यो पहिरो कसरी गयो भनेर अध्ययन गर्थे। त्यहाँबाट पाठ सिकेर अन्य पहाडी भागका बासिन्दा सचेत गराउन सजिलो हुन्थ्यो । सरकारलाई अन्य ठाउँमा घटना हुन नदिन योजना बनाउन सजिलो हुन्थ्यो ।’ यस्तो चलन अन्तर्राष्ट्रिय स्तरमा रहेको उनी सुनाउँछन् ।
भूकम्पका बेला नै दीर्घकालीन रूपमा अध्ययनको थालनी नगरेर राज्य चुकेको उनको ठहर छ । ‘राहत, क्षतिपूर्ति, पुनःस्थापनाका साथै अध्ययनलाई ध्यान दिनुपथ्र्यो। आज त्यसकै परिणाम भोग्नु परिरहेको छ’, उनी भन्छन् ।
लिदी, भीरखर्क र नागपुजे पहिरो एकै प्रकृतिको रहेको प्रा. डा. खनालको भनाइ छ । ‘भूकम्पको बेला म गएको थिएँ । त्यहाँ जमिन छियाँछियाँ थियो’, उनी भन्छन्, ‘भूकम्पको असर र यो वर्षको अत्यधिक वर्षाले नै त्यो क्षति भएको हुनुपर्छ ।’
योजना बिनाका विकास निर्माण, अतिवृष्टिलगायत कारणले धेरै पहिरोका घटना भएको प्रा. डा. भट्टराईको अनुमान छ । तर, सम्बन्धित स्थानमा गएर अध्ययन, अनुसन्धान नगरेकाले ठ्याक्कै कारण भन्ने अवस्था छैन्’, उनी भन्छन् ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।