अब ऋणीको ब्याजदर कहिल्यै घटबढ नहुने

२४ भदौ, काठमाडौं । के तपाईं बैंकबाट लिएको ऋणको ब्याजदर बढेर चिन्तित हुनुहुन्छ ? यदि त्यसो हुनुहुन्छ भने खुसीको खबर छ । अब तपाईं आफ्नो ऋणको ब्याजदर कहिल्यै घटबढ नहुने बनाउन सक्नुहुन्छ । व्यक्तिगत ऋणीलाई स्थिर ब्याजदरको छनौट गर्ने विकल्प राष्ट्र बैंकले दिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार स्थिर ब्याजदर सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै यो व्यवस्था लागू गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । यो निर्देशन लागू भएसँगै बैंकले एउटै प्रकृति र अवधिको ब्याजको लागि पनि परिवर्तनशील र स्थिर गरी २ प्रकारको ब्याजदर तोक्नुपर्नेछ ।

राष्ट्र बैंकले दिएको सो निर्देशनमा १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुनेगरी स्थिर ब्याजदर कायम गर्नुपर्ने उल्लेख छ । त्यसको लागि यो प्रयोजनको लागि छुट्टै स्थिर ब्याजदर तोक्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख गरिएको छ ।

तर, ऋणी स्वयंले परिवर्तनशील ब्याजदर अनुसार ऋण लिन चाहेमा भने यो व्यवस्थाअनुसार ऋण दिन राष्ट्र बैंकले बाधा नपुर्याएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
नयाँ ऋणीलाई मात्रै नभएर अहिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई पनि ऋणीले चाहेमा स्थिर ब्याजदरमा जानसक्ने विकल्प रोज्न पाउने भएका छन् । ग्राहकले बैंकमा गएर यस्तो ब्याजदरको शर्त परिवर्तन गर्न अनुरोध गरेमा तत्कालै बैंकले परिवर्तनशील ब्याजदर स्थिर ब्याजदरमा जान विकल्प खुला गर्नुपर्नेछ । यसरी एकपटक सर्त परिवर्तन भएपछि ग्राहकको ब्याजदरमा ऋण चुक्ता गर्ने अवधिभर कुनै घटबढ हुने छैन । साथै, यो व्यवस्था रोजेबापत ऋणीले बैंकलाई थप शुल्क समेत तिर्नु नपर्ने व्यवस्था समेत गरिएको छ ।

अहिले बैंकको ब्याजदर आधार दरमा प्रिमियम जोडेर गणना हुँदै आएको छ । प्रिमियम दर निश्चित हुने भए पनि आधार दर घटबढ भइरहने भएकोले ऋणीले बुझाउने ब्याजदरमा समेत तलमाथि भइरहन्छ । व्यक्तिगत ऋणीलाई आधार दर वा ब्याजदरको शर्तबारे धेरै जानकारी नहुने भएकोले यसैको नाममा केही बैंकहरुले ग्राहकसँग चर्को ब्याज असुली गर्दै आएको गुनासो पनि सुनिँदै आएको छ । यो व्यवस्थासँगै यस्तो गुनासोको अन्त्य समेत हुनेछ ।

तर, संस्थागत ऋणीका हकमा भने अहिले कायम रहेको व्यवस्था नै लागू हुनेछ । संस्थागत ऋणीहरु आफ्नो ब्याजदरबारे सचेत हुने गरेकोले उनीहरुका हकमा यस्तो सर्तमा परिवर्तन नगरिएको हो । तर, परिवर्तनशील दरभन्दा स्थिर ब्याजदर केही महँगो भने पर्न जान्छ ।