कोरोनाबाट वीरगञ्जमा दुई र चितवनमा थप एक को मृत्यु

१६ भाद्र, काठमाडौं । पछिल्लो चरणमा कोरोना संक्रमणका बिरामी बढ्ने क्रमसँगै कोरोना संक्रमणका कारण मर्नेहरुको पनि संख्या बढ्ने क्रम जारी छ । आज कोरोना संक्रमणबाट वीरगञ्जमा २ र चितवनमा १ को मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु भएको हो ।

बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिएका छन् ।

वीरगञ्जमै अर्का पहिचान नखुलेका पुरुषको हिजो सोमबार बेलुका ८ः४५ मा मृत्यु भएको थियो । सामान्य ज्वरो र कमजोरीको समस्या रहेका उनको नारायणी अस्पतालको इर्मजेन्सी वार्डमा उपचार भइरहेको थियो ।

भदौ १३ गतेदेखि नै इर्मजेन्सीमा उपचाररत उनको मृत्युपछि जीन एक्पर्ट विधिबाट कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको
थियो । घरवारविहीन र पहिचान समेत नखुलेका उनी सडकमै बेवारिसे अवस्थामा जीबन व्यतित गर्दै आएका थिए ।

त्यस्तै बागमती प्रदेशको चितवनमाको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार (हिजो) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।