निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ

१५ भाद्र, काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको बताए ।

किन बढिरहेछ त संक्रमण ? जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘कोरोना भाइरसको इन्कुबेसन पिरियड (लक्षण देखिने समय) १४ दिन हो। यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो । १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा लक्षण देखिने बेला नै यही हो । कतिपयलाई सातै दिनमा लक्षण देखिन्छ । कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्छ ।’

संक्रमितको स्वाब संकलन गरिएको १० दिनपछि पीसीआर जाँच गरिन्छ । रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने र पोजिटिभ भए थप चार दिनपछि जाँच नगरी पनि डिस्चार्ज गर्न सकिने विश्व स्वास्थ्य संगठनको प्रोटोकल हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार संक्रमित व्यक्तिबाट १४ दिनपछि अन्यलाई भाइरस सर्ने सम्भावना हुँदैन । त्यसैले डिस्चार्ज गर्दा फरक नपर्ने उनको दाबी छ ।

शुक्रराज अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन निषेधाज्ञाको पालनासमेत नगर्ने प्रवृत्ति देखिएको बताउँछन् । भन्छन्, ‘सरकारले के गरेन भन्ने प्रश्न उठाउनु आफ्नो ठाउँमा होला। संक्रमण वृद्धि हुन नदिन हामीले के गरिरहेका छौं भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठेको छ ।’ कोरोना संक्रमण वृद्धि रोक्नु नागरिकको पनि कर्तव्य रहेको उनी बताउँछन्। कामको सिलसिलामा आवतजावत गर्नेहरूबाट पनि संक्रमण बढेको डा. मरासिनीको ठम्याइ छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।