उपाध्यक्ष गौतमको गीतको भिडियो सार्वजनिक

१३ भाद्र, काठमाडौैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले रचना गरेको गीतको भिडिओ र सार्वजनिक भएको छ ।

गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीतको भिडिओ सार्वजनिक गरिएको त्यसका संगीतकार शम्भुजित बाँस्कोटाले बताएका छन् ।

राष्ट्रप्रेम र राष्ट्रभाव झल्किने उक्त गीतमा गौतम आफैंले पनि अभिनय गरेका छन् भने भिडियो तयार पार्ने सबै काम गौतमकै छोरा हरिशचन्द्र गौतमले गरेका हुन् ।

गौतमले यो गीत २०६४ सालमा रेकर्डिङ गरेका थिए । ‘मेरो गीति यात्रा’ एल्बममा उनले रेकर्ड गरेका सात गीतमध्येकै यो गीतको भिडिओ ल्याइएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए ।

सुवेदीका अनुसार २०६२–२०६३ पछि राष्ट्रियगानको छनौट हुँदा यो गीत प्रतिस्पर्धामा पठाइएको थियो । तर, ब्याकुल माइलाको ‘सयौं थुंगा फूलका हामी’ गीत छनौट भयो ।

त्यसबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवाली थिए । राष्ट्रगान छनौट समितिमा नेता मोदनाथ प्रश्रित थिए ।

‘आफ्नै पार्टीका नेता छनौट समितिमा हुँदा आफ्नो गीत सेलेक्ट नभएपछि उहाँले राष्ट्रगान छान्दा निष्पक्ष भएछ भन्ने ठान्नुभयो,’ सुवेदीले भने ।

गीत आङ्गौल क्रिएसनले बजारमा ल्याएको हो । उत्पादन सुवास काफ्लेले गरेका हुन् ।

गीत रोशन गुरुङ र माण्डवी त्रिपाठीलगायतले गाएका हुन् ।

यो गीतको छायांकन काठमाडौं, भक्तपुर, दरबारमार्ग, दरबारस्क्वायर, चोभार, बौद्ध, स्वयम्भू, भैंसेपाटी, बौद्ध लगायतका ठाउँमा भिडिओ सुटिङ गरिएको हो ।

काफ्लेका अनुसार लकडाउन खुलेको बेला बीचमा भिडिओ सुटिङ गरिएको हो ।

गीतमा वाद्य संयोजन मनोहर सुनाम र छायांकन दीर्घ गुरुङले गरेका हुन् । निर्देशन जीवन थापाले गरेका हुन् ।

गणतन्त्र घोषणाअघि गौतमले ‘गणतन्त्र जिन्दावाद’ भन्ने अर्को गीत सार्वजनिक गरेका थिए । सो गीत २०७० सालमा गणतन्त्र दिवसको दिन नेपाली सेनाले ब्याण्डमा प्रस्तुत गरेको थियो ।

‘मलाई लिरिक्स राम्रो लाग्यो, मन परेको शब्दमा मैले संगीत भरेँ,’ संगीतकार बाँस्कोटाले भने ।

नेता गौतम किसान, नारी आन्दोलनका अगुवा मानिन्छन ्। उनी सानैदेखि गीत, कविता लेख्ने गर्थे । सिर्जनात्मक प्रतियोगिताहरूमा भाग लिन्थे । तर, नेता भएपछि उनले गीत, कविता लेख्न छोडेका थिए ।

 

यो मुक्त भूमि, यो ज्ञान भूमि, हो बुद्ध भूमि नेपाल
लम्किरहोस्, चम्किरहोस्, प्यारो देश नेपाल
जय, जय, जय, जय, प्राणभन्दा प्यारो नेपाल