काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा

१० भदौ, काठमाडौँ । काठमाण्डौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा आज बुधबार सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको हो ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ–जाउ गर्न सक्नेछन् ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।