दयाहाङ राई का ५ फिल्म यूटुबमा

९ भदौ, काठमाडौँ । झन्डै डेढ दशकअघि ’अनागरिक’ फिल्मबाट सिनेमाको दुनियाँमा प्रवेश गरेका दयाहाङ राई रंगमञ्च पृष्ठभूमिबाट आएका अभिनेता हुन् ।

पन्ध्र वर्षको अवधिमा उनले करिब चालीस फिल्ममा अभिनय गरिसकेका छन्। तीमध्ये ’सेतो सूर्य’, ’तान्द्रो’, ’लुट’, ’दासढुंगा’, ’टलकजंग भर्सेस टुल्के’, ’स्वाभिमान’, ’कबड्डी’ शृंखलामा उनको अभिनयलाई विशेष मन पराइएको छ । सानाठूला, सकारात्मक(नकारात्मक सबै खालका भूमिका निर्वाह गर्दै आएका उनी विगत एक दशकदेखि चर्चाको केन्द्रमा छन् ।

पर्दामा दयाहाङ सहज देखिन्छन् । खासगरी, जनजाति पृष्ठभूमिबाट आएर नेपाली मूलधारको सफल नायक वा हिरो बनेर उनले नयाँ इतिहास रचे । परम्परागत हिरोको मानक तोड्न सफल उनले चरित्रप्रधान अभिनेताका रुपमा आफूलाई पटक पटक प्रमाणित गरिसकेका छन् ।

यस पटकको सूचीमा धेरै तामझाम बिना राम्रो अभिनय गर्न सिपालु उनै दयाहाङका पाँच फिल्म छनोट गरिएको छ जुन युट्युबमा सहजै हेर्न सकिन्छ ।

दासढुंगा (२०१०), निर्देशकः मनोज पण्डित

२०५० साल, जेठ ३ सँग नेपाली इतिहासको नमिठो दुर्घटना जोडिएको छ । यही दिन तत्कालीन एमाले पार्टीका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा भएको गाडी दुर्घटनामा परी ज्यान गएको थियो । यो दुर्घटना आममानिसको स्मृतिमा आज पनि रहस्यमयी घटनाका रूपमा बसेको छ, जसबारे आजसम्म ठोस छानबिन हुन सकेको
छैन ।

यो घटनामा गाडी चालक अमर लामा संदिग्ध हत्याराका रूपमा जोडिएका थिए । अलि पछि कीर्तिपुरमा गोली हानी उनको पनि हत्या भएपछि दासढुंगा घटना झनै रहस्यमयी बन्यो । निर्देशक मनोज पण्डितको ’दासढुंगा यही घटनाको सेरोफेरोमा बुनिएको फिल्म हो । दयाहाङ राईले दासढुंगामा उनै अमर लामाको भूमिका निर्वाह गरेका छन् ।

राजनीतिक रूपमा चर्चित घटनाका रूपमा रहेको दासढुंगालाई दयाहाङले आफ्नो करिअरकै महत्वपूर्ण फिल्म मानेका छन् । अमर लामा बन्न उनले झन्डै सात केजी तौल घटाएको कुरा पनि चर्चामा आएको थियो ।

फिल्ममा दासढुंगापछि घटनाको छानबिन गर्न प्रहरी अनुप बरालले मुख्य जिम्मेवारी पाउँछन् । घटनास्थल आसपासका मान्छे र अन्य स्रोतहरूसँग सोधपुछ गर्दै उनी अमर लामासम्म पुग्छन् । रहस्यमयी ढंगमा यो सोधपुछ र अनुसन्धानको क्रमले फिल्म भरी निरन्तरता
पाइराख्छ ।

अनुप फिल्ममा शंकालु अनुसन्धानकर्मीका रूपमा देखिन्छन् भने दयाहाङ शंकास्पद संदिग्ध । अनुपले आफ्नो अनुसन्धानका आधारमा दासढुंगाको प्रतिवेदन तयार पार्छन् । फिल्ममा सौगात मल्लको प्रवेश त्यही रिपोर्ट हात पार्न चाहने रहस्यमयी पात्रका रूपमा हुन्छ । सौगातको प्रवेशपछि फिल्म झनै रोचक बन्छ ।

फिल्ममा दयाहाङ, अनुप र सौगात तीन जना कलाकारको सशक्त अभिनय देख्न पाइन्छ । मूल नायक अनुप बरालले अनुसन्धान गर्ने सरकारी अधिकारीको अन्तर्मुखी मनोदशा उतार्न भरमग्दुर प्रयास गरेका छन् । दयाहाङले घरी निर्दोष त घरी शंकास्पद पात्रका रूपमा जीवन्त अभिनय गरेका छन्। नकारात्मक चरित्रका रूपमा सौगातले छोटो भूमिकामा पनि प्रभावकारी छाप छाड्न सफल छन् ।

किरण पौडेलको अनुसन्धान र खोज रहेको यस फिल्ममा वृत्तचित्र शैलीमा मदन–आश्रित जीवित हुँदाका ‘फुटेज’ हरू पनि प्रस्तुत गरिएको छ । विषय यथार्थ घटनाबाट टिपिएको भए पनि मनोजले निर्देशकका रूपमा यसमा काल्पनिक स्वतन्त्रता पनि प्रयोग गरेका छन् ।

 

लुट (२०१२), निर्देशकः निश्चल बस्नेत

मल्टिस्टारर ’लुट’ले नेपाली फिल्ममा सुकेको बजार मात्रै उकासेन, फिल्मको ट्रेन्ड नै बदलिदिएको मान्नेहरूको कमी छैन । व्यवसायिक रूपमा र समीक्षकका नजरमा समेत सफल यो फिल्मपछि दयाहाङ राई र सौगात मल्ल नेपाली फिल्मका सर्वाधिक प्रभावशाली कलाकार बने ।

दयाहाङको करिअरको अति महत्वपूर्ण यो फिल्म हाकु काले (सौगात मल्ल) को बैंक लुट्ने मास्टरप्लान पूरा गर्ने प्रयाससँगै अघि बढ्छ । उसको यो मास्टरप्लानमा दयाहाङ राई, कर्मालगायत केही युवा जोडिन पुग्छन् । उनीहरूको बैंक लुट्ने प्लानमा आउने आरोह र अवरोह नै लुटको मुख्य कथा हो ।

सौगात मल्लले निर्वाह गरेको हाकु कालेको भूमिका नेपाली फिल्मको सर्वकालीन यादगार पात्र हो । फिल्ममा गोफ्ले पात्रमार्फत चरित्र र अभिनयमा दयाहाङले सौगातसँग प्रतिस्पर्धा गरेका छन् ।

निर्देशक निश्चल बस्नेतको यो फिल्मले बेरोजगार सहरी युवा र पैसा कमाउने दबाबमा उनीहरूले अपनाउने आपराधिक गतिविधिको कथा
भन्छ । कथाभन्दा प्रस्तुतिका कारण रुचाइएको लुटको पटकथा, संवाद र अभिनयका कारण प्रशंसा कमाएको फिल्म हो। यसमा काठमाडौंका गल्लीदेखि भट्टीसम्मका दृश्य सुन्दर ढंगले खिचिएको छ ।

लुट सकिएको ठाउँबाट अघि बढ्ने यसको सिक्वेल ’लुट २’ मा पनि दयाहाङ महत्वपूर्ण भूमिकामा छन्। ’लुट २’ पनि युट्युबमा उपलब्ध छ ।

कबड्डी (२०१४), निर्देशकः रामबाबु गुरुङ

’कबड्डी’ दयाहाङको सर्वाधिक रुचाइएको फिल्ममध्ये एक हो। यसमा उनी तीन कक्षा फेल काजी पात्रको भूमिकामा देखिएका छन् । मैंया
(रिश्मा गुरूङ) लाई पाउन मरिहत्ते गर्ने काजीका रूपमा दर्शकले उनलाई रुचाएका छन्। मैंयाको जति पछि लागे पनि काजी उनको मन जित्न भने असमर्थ भइरहन्छन् ।

काजीजस्तै मैंयालाई फकाउने दौडमा विवेक (निश्चल बस्नेत) पनि लागिपरेका छन् । काजी र विवेकबीच हुने हानथाप फिल्मको रमाइलो पक्ष
हो ।

फिल्मको कथाले मुस्ताङको परिवेशसँगै थकाली परम्परा र स्थानीय राजनीति समेत जोड्दै लान्छ । मुख्यपात्र बाहेक विजय बराल, बुद्धि तामाङजस्ता कलाकारको उपस्थितिले पनि फिल्मलाई रोचक बनाएको छ ।

त्रिकोणात्मक प्रेम कथा कबड्डी व्यवसायिक रूपमा सफल फिल्म हो। ’कबड्डी’ पछि यसका सिक्वेलहरू ’कबड्डी कबड्डी’ र ’कबड्डी कबड्डी कबड्डी’ मा पनि दयाहाङले मुख्य भूमिका निर्वाह गरेका छन् ।

फन्को (२०१६), निर्देशकः सुवर्ण थापा

संसदीय चुनावको माहोल छ । पोखराको एउटा कम्पनीका धमला साहुजी (केशव भट्टराई) ले नेता तारानाथ शर्मालाई चुनावमा सहयोग स्वरूप एक करोड नगद पठाउन लागेका छन्। उनले यो रकम आफ्नो विश्वास पात्र पाठक (अनुप बराल) र ड्राइभर भक्ति थापा (सौगात मल्ल) मार्फत पठाउने निर्णय गर्छन् । तर धमला साहुले ठूलो रकम जिपमा पोखराबाट काठमाडौं पठाउन लागेको कुरा बुद्ध (दयाहाङ राई) र लिली (प्रियंका कार्की) ले चाल पाउँछन् ।

बुद्ध भोजपुरबाट काठमाडौं पढ्न आएदेखि नै राजनीतिमा सक्रिय युवा हुन्। तर वर्षौंको अनुभवले उनलाई इमानदारीपूर्वक राजनीतिमा भविष्य बनाउन नसकिने कुरा सिकाएको छ । लिली दोहोरी रेस्टुरेन्ट चलाएर पनि ऋणमा फसेकी युवती हुन्। पैसाको अभावमा पिरोलिएका यी दुई मिलेर ड्राइभर भक्तिलाई पछ्याउन थाल्छन् ।

पैसा लुट्न भक्तिलाई पछ्याउनेमा बुद्ध र लिलीसँगै केही गुण्डाहरू पनि हुन्छन् । ’फन्को’ फिल्म पूरै यही पैसाको रन्कोमा पछि लाग्ने यिनै पात्रहरूको कथा हो ।

अधिकांश घटनाहरू पोखरादेखि काठमाडौं जाने क्रममै हुने यो फिल्म जति अघि बढ्यो, उति रोमाञ्चक बन्दै जान्छ । पैसा बोकर यात्रा गर्दा ड्राइभर भक्तिले कसरी विभिन्न पात्र र समस्याको सामना गर्नुपर्छ ? धेरै जनाले हात पार्न चाहेको एक करोड अन्तमा कसले हात पार्छ? यिनै जिज्ञासाले फिल्मलाई अन्तिमसम्म रहस्यमयी बनाइराख्छ ।

फिल्ममा ड्राइभर भक्तिको श्रीमतीको भूमिकामा केकी अधिकारीको पनि महत्वपूर्ण भूमिका छ ।

पोखराको आञ्चलिकता झल्कने लवज, रोचक संवाद र रहस्यमयी घटनाक्रमले दर्शकलाई बाँधेर राख्छ । फिल्ममा दयाहाङले भक्भकाएर बोल्ने पात्रको चरित्र निर्वाह गरेका छन् ।

विभिन्न समस्यामा पनि शान्तपूर्वक सामना गर्न सक्ने ड्राइभरको भूमिकामा सौगात मल्ल जमेका छन् । द्वन्द्वका हिसाबले धेरै कसिलो बन्न सक्ने ठाउँ बाँकी रहे पनि ’सुनगाभा’ जस्तो चर्चित फिल्म निर्देशन गरेका सुवर्ण थापाको यो फिल्म फरक स्वाद दिन सफल
छ ।

पुरानो डुंगा (२०१६), निर्देशकः रामबाबु गुरुङ

डुंगा चलाएर जीवन धान्ने गरिब माझी परिवारको कथा भन्ने ’पुरानो डुंगा’ मा दयाहाङ राई, माओत्से गुरुङ (भक्तबहादुर) र मेनुका प्रधान (मनमाया) मुख्य भूमिकामा छन् ।

सानो टहरोमा बस्ने भक्तबहादुर डुंगा चलाउँछन् । माछा मार्छन् । सानी छोरी हुर्काइरहेकी उनकी श्रीमती मनमायाको स्वास्थ्य कमजोर छ । भक्तबहादुरलाई घरको अवस्था सहज बनाउन भाइको सहाराको खाँचो हुन्छ । तर उनका भाइले परिवारको समस्या कम गर्नेभन्दा बढाउने काम गर्छन् ।

दयाहाङले माओत्सेका भाइ तथा बेरोजगार अल्लारे युवक बतासेको भूमिका निर्वाह गरेका छन् । उनी जाँडरक्सीमा झुम्दै, जुवा खेल्दै समय काट्छन् । दोहोरी रेस्टुरेन्टमा काम गर्ने चन्दुको प्रेममा परेका बतासे अर्काको मोटरसाइकल आफ्नो भन्दै चन्दुलाई फकाउन व्यस्त छ । दाजु भाउजूको दुःख पूरै बेवास्ता गर्छन् ।

बतासेको गैरजिम्मेवार व्यवहारबाट पहिल्यै आजीत भक्तबहादुर भाइले आफूसँग भएको एउटा मात्रै सम्पत्ति डुंगा, अंशका रूपमा मागेपछि झनै दुःखी बन्छन् । पहिल्यै चिसिएको सम्बन्धमा बतासेको यो मागले दाजुभाइबीच फाटो ल्याउँछ ।

उता रेस्टुरेन्टका साहुजी र अर्को नयाँ पात्रको प्रवेशसँगै बतासेले चन्दुसँग बिहे गर्ने सोचमा नयाँ अवरोध आउँछ । यी सबै घटनाले यी पात्रहरूको जीवन कस्तो बन्ला, कता पुग्ला? यसका लागि पूरै फिल्म हेर्नु पर्नेछ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन हेर्नलायक छ । फिल्मको कथा निर्देशक रामबाबुले कवि उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । पुरानो डुंगामा कालीप्रसाद बाँसकोटाको संगीत र स्वरका ’ओ नीर’ र ’माझी’ गीत चर्चित छन् ।

समाचार सेतो पाटीबाट