कोरोना कहरसँगै मनाइयो यस पालिको ऋषि पञ्चमी

७ भदौ, काठमाडौं । आज महिलाहरुको ऋषि पञ्चमी वर्त । महिलाहरुले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरी तथा घरकै स्नान तथा धारामा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने चलन रहेको छ । नारीलाई रजस्वलाका तीन दिनसम्म छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित पञ्चगव्य सेवन गरी सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास मानिने गरिएको छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्ष सम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।

 

यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने भए पनि यस पालि भने कोरोना कहरका कारण त्यो दृश्य भने देखिएन । सरकारले काठमाण्डौं उपत्यकामा निषेधाज्ञ समेत लगाएको कारणले महिलाहरु बाहिर समेत निस्कने नपाइएपछि घर नजिकैका मन्दीर तथा ऋषिको मन्दीरमा गएर पूजाआज र कर्मकाण्ड गरिरहेका छन् ।