७ भदौ, काठमाडौं । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जःतो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए । उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए ।
यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ ।
विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा (९ र १०) को जस्तै गरी लिइनेभएको हो । एकलपथीय प्रणालीमा सङ्काय छुट्याएर अब भर्ना हुँदैन र पठनपाठन पनि हुँदैन । साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ ।
कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।