पार्टीमा सल्लाह नगरी राजनीतिक नियुक्ति गरिएकोमा अध्यक्ष प्रचण्डद्धारा आपत्ति

४ भादौ, काठमाडौं । पार्टीमा देखिएका विवाद समाधान गर्न कार्यदलले काम गरिरहेको बेलामा राजनीतिक नियुक्ति गरिएको भन्दै नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएका छन् ।

आज अध्यक्ष प्रचण्डले अकौ अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विरोधका साथै आपत्ति जनाएका छन् ।

यसअघि मंगलबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीसँग राजनीतिक नियुक्तिलाई लिएर असहमति जनाएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेललाई नियुक्त गरेको थियो । भण्डारीलाई कार्यवाहक अध्यक्षका रूपमा काम नगर्न सर्वोच्च अदालतले आदेश दिइसकेको
छ ।

पार्टीको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको अवस्थामा कार्यदलको कामलाई प्रभावित गर्ने गरी भएका नियुक्ति खारेज गर्न समेत प्रचण्डले प्रधानमन्त्रीलाई सुझाएका थिए ।

राजनीतिक नियुक्तिबारे वरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई भेटेर असहमति जनाएका थिए ।