पहिरोबाट जोखिम रहेको लिदीको बस्ती स्थानान्तर गरिने

३१ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् ।

पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् ।

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीब्र बनाइने गृहमन्त्रीको भनाइ थियो ।

शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुगेका थिए । उनले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुःख व्यक्त गरे ।

मन्त्री थापाले भने, “उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बास बसे पनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो । पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उनले बताए ।

उद्धार सकिएपछि बस्ती स्थानान्तरण गरी पीडितका लागि उपयुुक्त स्थानमा बासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उहाँले आश्वासन दिए ।

गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पु¥याइएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडावर्तन, ४० वटा ब्ल्यांकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन र ६० थान पञ्जा लगिएको हो । सोहीक्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारका तर्फबाट रु दुई लाख हस्तान्तरण गरेका थिए ।