काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण बढ्दो क्रममा

२८ साउन, काठमाण्डौं । करिब ४ महिने लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ । मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो ।

काठमाडौंमा पाँच सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ । यस अवस्थामा बढ्दा बेड अभावको स्थिति पनि छ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । उनका अनुसार काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरीमा पाँच सयभन्दा बढी संक्रमित छन् ।

साउन ६ गते लकडाउन अन्त्य गरिँदा संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ थियो । अहिले बढेर २३ हजार ९ सय ४८ पुगेको छ। जोखिम कायमै रहेका बेला लकडाउन अन्त्यको निर्णयपछि संघीय राजधानी आउने संख्या बढेको थियो । असार २७ गतेदेखि साउन १२ गतेसम्म दैनिक औसत पाँच जना नयाँ संक्रमित पुष्टि भएका थिए ।

लकडाउन अन्त्यसँगै उपत्यकामा संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । फलफूल एवं तरकारी व्यवसायी, नाई, होटल व्यवसायी, ब्युटिपार्लर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतमा संक्रमण देखिएको छ । जनप्रतिनिधि पनि संक्रमित पाइएका छन् ।

यो समाचार आजको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।