एजेन्सी २५ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले आज आइतबार विज्ञप्ति जारी गरी पुरातात्विक प्रमाणका आधारमा बुद्धको जन्मभूमि नेपाल रहेकाले दिग्भ्रमित नहुन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको हो ।
यो एउटा स्थापित र निर्विवाद तथ्य हो, ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उक्त क्षेत्र बुद्ध र बौद्ध धर्मको स्थल तथा यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्ये एक हो,’विज्ञप्तिमा भनिएको छ ।
’२०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले नेपालको संसद्लाई सम्बोधन गर्ने क्रममा ‘नेपाल संसारमै शान्ति प्रेषित गर्ने बुद्ध जन्मेको देश हो’ भनेको विज्ञप्तिमा उल्लेख छ ।
‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो । बुद्धको जन्मभूमि बुद्धिज्मको उद्गम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको भन्दै बुद्धको जन्मस्थलबारे विवाद गरिरहनुनपर्ने बताएको छ । ‘यो कुरा शंका र विवादभन्दा पर छ । त्यसैले यो बहसको विषय हुन सक्दैन। सारा अन्तर्राष्ट्रिय समुदाय यस विषयमा जानकार छ,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।
कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिरया कार्यक्रममा जयशंकरले ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुईजनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छन् ।