पार्टी एकताका लागि ५० भन्दा बढी सांसदद्धारा दबाब दिन हस्ताक्षर

२५ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी फुटकै संघारमा गएपछि पार्टीका ५० भन्दा बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन् ।

पार्टीका दुबै अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूले शीर्ष नेतालाई दबाब दिन आइतबार दिउँसो हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागेको सांसद विशाल भट्टराईले जानकारी दिएका छन् ।

नेता नेपालनिकट सांसद यज्ञराज सुनुवारका अनुसार पूर्वमाओवादीको संसदीय दलको कार्यालयमा दिउँसो पत्रकार सम्मेलन गरेर हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागिएको हो ।

‘अहिलेको अवस्थामा पार्टी विभाजन गर्नु हुन्न बरू एकतालाई मजबुद् बनाउनु पर्छ भन्ने दबाब दिन हामीले हस्ताक्षर गरेका हौं,’ सांसद सुनुवारले भने ।

आफूहरू पार्टीभित्रको यो विवादमा कुनै समूहतीर नरहेको र पार्टी एकताको पक्षमा रहेको जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागिएको सांसद भट्टराईको भनाइ छ ।

’यो बेलामा पार्टी फुट्नु हुँदैन, हामी कुनै पनि खाले विभाजनको पक्षमा छैनौं’, उनले भने, ’पार्टी एकताका लागि अब शीर्ष नेताको घरदैलोमा गएर दबाब दिनसमेत हामी पछि पर्दैनौं ।

हस्ताक्षर गर्नेहरूमा विशाल भट्टराई, यज्ञराज सुनुवार, गणेश ठगुन्ना, तेज बहादुर बस्नेत, श्यामकुमार श्रेष्ठ, गणेश पहाडी, कमला रोक्का, सुरेशकुमार राई लगायत छन् ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड र नेपाल समूहबीच विवाद चुलिँदै गएको छ ।

विवाद चुलिँदै जाँदा दुई वर्ष अघि एक भएको पार्टी विभाजन त हुने होइन भन्ने चिन्ता आम कार्यकर्तामा देखिएको छ ।