कांग्रेसले २३ लाख क्रियाशिल सदस्य बढाइने

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन् ।

अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन् । अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन् । पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन् ।

‘छिट्टै केन्द्रीय समिति बैठक बसेर औपचारिक निर्णय हुनेछ’, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने। पार्टीका पूर्वपदाधिकारी सहित पदाधिकारी बैठक बसेको हो । विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने र पार्टी समायोजनका साथै सदस्यता लिन चाहनेको संख्या धेरै भएपछि तल्लो तहबाटै क्रियाशील सदस्यता थप गर्नुपर्ने दबाब आएको हो । यसअघि पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता दोब्बर बनाउनुपर्ने प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएको थियो ।

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरूबीच गुटगत राजनीति गहिरिँदै गएका बेला पदाधिकारी बैठक बसेको हो । ‘पछिल्लो समय शीर्ष नेताबीच संवादहीनताको अवस्था थियो, त्यसलाई तोड्ने काम भएको छ,’ एक पदाधिकारीले अन्नपूर्णसँग भने, महाधिवेशनबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल भएको छ ।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।