चुच्चेपाटीमा आमा छोरीलाई एसिड प्रहार

२२ साउन, काठमाण्डौ । पछिल्लो समयमा एसिड प्रहारका घटना छिटफुट भइरहेका छन् । प्राय एसिड घटना प्रेम प्रस्तावमा नमाने वा आफूले भनेका कुरा नमानेको आधारमा घटना घट्ने भएपनि आज भएको घटना अलि फरक देखिएको छ । राजधानीको चाबहिल चुच्चेपाटीमा दुई जनामाथि ’एसिड’ छ्यापिएको खबर आएको छ । आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

गएको साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो । अर्को केटा मन पराएको भन्दै रौतहटका मोहमद आलमको निर्देशनमा उनका कामदार भारतीय नागरिक मुन्ना मोहमदले एसिड प्रहार गर्दा उनको अहिले र्कीतिपुर अस्पतालमा उपचार भइरहेको छ ।